
भरतपुर । चितवनका महिला उद्यमीद्धारा विभिन्न जिल्लाका उद्योग वाणिज्य संघहरुमा संचालित महिला उद्यमशिलता अध्ययन अवलोकन भ्रमण गरीएको छ । मंगलबार चितवन उद्योग बाणिज्य संघबाट तिन दिने अध्ययन अवलोकन भ्रमण सुरु भएको थियो ।भ्रमणमा सहभागि महिला उद्यमीहरुलाई भ्रमण सफलको शुभकामना दिदै उद्योग बाणिज्य संघ चितवनका पूर्व अध्यक्ष प्रचण्डलाल प्रधानले भ्रमणबाट उद्यम बिकासमा सहयोग पुग्ने बताउनु भयो ।
महिला उद्यमीहरुको क्षमता अभिवृद्धिका लागि आयोजित भ्रमणदललाई चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सहितको पदाधिकारी र कार्यसमिति सदस्यहरुले बिदाई गर्नुभएको थियो । सो अवसरमा बोल्दै अध्यक्ष चुन नारायण श्रेष्ठले महिला उद्यमशिलता विकासको लागि भ्रमण फलदायी हुने आशा समेत व्यक्त गर्नुभयो । भ्रमणले महिलाहरुमा प्रतिष्पर्धी क्षमताको विकासको अलावा नयाँ प्रविधी र बजारको अवस्थाबारे समेत जानकारी प्राप्त हुने उहाँको अपेक्षा रहेको छ ।
चितवन उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यमी विकास समितिको आयोजनामा भएको भ्रमणमा चितवनमा रहेर विभिन्न पेशा र व्यवसायमा सक्रिय १७ जना महिलाहरुको सहभागिता रहेको भ्रमण टोलीका संयोजक तथा चितवन उद्योग वाणिज्य संघकी कार्यसमिति सदस्य पूर्णिमा जोशी श्रेष्ठले जानकारी दिनुभयो ।
तीन दिने भ्रमणको पहिलो दिन चितवनका महिला उद्यमीहरुले सिन्धुली उद्योग वाणिज्य संघको कार्यसमिति र महिला उद्यमीहरुसंग अन्तरक्रिया गरीएको थियो । सो अवसरमा बोल्दै कार्यक्रम संयोजक पूर्णिमा श्रेष्ठ जोशीले चितवनका उद्योगी महिलाहरुको अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो। त्यसैगरी उहाँले उद्योग बाणिज्य संघ चितवनको लक्ष्य, परिकल्पना र उदेश्यहरुका बारेमा जानकारी गराउनु भएको थियो ।
सो अवसरमा बोल्दै उद्योग बाणिज्य संघ चितवनका सदस्य रजनी मास्केले चितवनको कोशेली घरको स्थापना र अहिलेको अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो । साथै उहाँले महिला उद्यमीद्धारा २०७६ सालमा सञ्चालित महिला उद्यमी मेलाका बारेमा जानकारी दिदै त्यसलाई निरन्तरता दिन लागिएको बताउनु भयो ।
सो क्रममा उद्योग बाणिज्य संघ सिन्धुलीका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले व्यवसायीक रुपमा सिन्धुली उर्जाशिल जिल्ला भएको बताउनु भयो । उहाँले महिलाद्धारा सञ्चालित उद्योगहरु धेरै नै सफल भएको भन्दै उद्योग वाणिज्य संघ सिन्धुलीको कार्यसमितिमा पनि महिलाहरुको राम्रो उपस्थित रहेको बताउनु भयो । उहाँले महिला उपाध्यक्ष, सचिव र सात जना गरी नौ जना महिलाहरुकाृ कार्यसमितिमा सहभागिता रहेको जानकारी दिदै महिलाहरुले अवसर पाएमा गर्न सक्ने बताउनु भयो ।
भ्रमणको दोस्रो दिन जनकपुरधाम उद्योग वाणिज्य संघका साथै त्यहाँ सञ्चालित नारी बिकास केन्द्र जनकपुरले सञ्चालन गरेको उद्योग घरमा आवद्ध महिला उद्यमीहरुसँग महिला उद्यमशिलताका विविध आयामहरुकाबारे छलफल र अनुभव आदान प्रदान गरीएको थियो । त्यसैगरी भ्रमणको अन्तिम दिन उद्योग वाणिज्य संघ मकवानपुरसंग अन्तरक्रिया गरिएको थियो ।
सो भ्रमणमाका क्रममा उद्योग वाणिज्य संघ चितवनका सदस्य योगिता पियाले भ्रमणबाट धेरै अनुभव सिक्न पाएको बताउनु भयो । उहाँले मनमा ईच्छाशक्क्ति भएमा उमेरले नछेक्ने भन्दै जेष्ठ आमाहरुले गर्नुभएको कामबाट धेरै प्रेरणा मिलेको बताउनु भयो । त्यसैगरी अर्का सदस्य दिपा शाहीले भ्रमणले संस्था संचालनको अनुभव र कार्यशैलीको आदानप्रदान गर्न निकै सहयोग पुगेको बताउनु भयो । भने सदस्य सुनिता कर्मचार्यले महिला उद्यमीहरुका लागि अहिलेको आर्थिक मन्दी चुनौति र अवसर दुवै भएर आएको बताउनु भयो । उहाँले उद्यमी महिलाहरुको क्षमता अभिबृद्धिका लागि भ्रमण फलदायी रहेको समेत बताउनु भयो ।