×

चितवन । दुर्गा प्रसाईँको नागरिक बचाऊ महाअभियान र हाम्रो नेपाली पार्टीले आगामी वैशाख १० गते चितवनमा हुने उपनिर्वाचनमा
दुर्गा थापालाई उम्मेदवार बनाउने भएको छ ।उनीहरुले आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उपनिर्वाचनमा थापालाई उठाउने बताएका हुन् ।

उनीहरुले उपनिर्वाचन हुने तीन वटै क्षेत्रमा उम्मेदवार समेत घोषणा गरेका छन् । चितवन–२ मा कालोमोसो अभियानका संयोजक शम्भु थापा, तनहुँ–१ मा विष्णु पराजुली, बारा– २ मा चन्द्रप्रकाश सुवेदीलाई उम्मेदवार सिफारिस गरेको हो । उपनिर्वाचनको लागि भोलि उम्मेदवारी दर्ता हुँदैछ ।
उम्मेदवार घोषणा कार्यक्रममा सहभागी भएका शम्भु थापालाई नागरिक बचाऊ महाअभियानका संयोजक प्रसाईँले टिकट दिँदै चुनाव चिन्ह लौरौ पनि थमाए । त्यसैगरी राजनीतिको वैकल्पिक शक्ति अब आफूहरु बन्ने प्रसाईंले दाबी गरे ।

प्रसाइँले प्रचण्ड र केपी ओलीले नागरिकहरुलाई धेरै ढाँटेको आरोप लगाए । अब प्रचण्ड, ओली, रवि र राजेन्द्र लिङ्देनबाट देशले निकास नपाउने उनको भनाइ छ । केही आशा गरिएका लामिछाने र लिङ्देन पनि ‘उही पोखरीमा गएर हामफालेको’ उनको आरोप छ । ‘प्रचण्डबाट पनि यो कुरा पार नलागिसकेपछि र प्रचण्ड पनि त्यही ठाउँमा पुगिसकेपछि अब नयाँ पार्टी आउँछ भनेर रविजीको पर्खाइमा बसेँ । राजेन्द्र लिङ्देन दाईको पर्खाइमा बसेको थिएँ । उहाँहरु प्नि त्यही ठाउँमा गएर हामफालेपछि, त्यही पोखरीमा गएर हामफालेपछि हामीले यो अभियान चलायौं । कालोमोसो दस्ता खोलेको यी भाई ९शम्भु थापा० लाई लगेर थुनिदिए,’– उनले भने ।

लघुबित्त, सहकारी र बैंकको कारण आज मान्छेहरु मिटरब्याजमा फसेको उनको आरोप छ । आफूले आवाज उठाएपछि त्यसको पक्षमा गगन थापा, रवि लामिछाने, माधवकुमार नेपाललगायतका मान्छेले आवाज उठाउन थालेको उनको दाबी छ । प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितसँग गरेको सम्झौता न पत्याउन र विश्वास नगर्न पनि उनले आग्रह गरे । आफूलाई प्रचण्ड र ओलीले आश्वासन दिएर काम नलाग्ने बनाएको समेत उनको आरोप छ ।
रवि लामिछाने सांसद भएपछि उनले चितवनको गरिब नागरिकको पक्षमा काम नगरेको उनको आरोप छ । आगामी उपनिर्वाचनमा त्यहाँबाट आफू निर्वाचित हुनेमा कुनै शंका नरहेको उनको दाबी छ ।‘उहाँले कहिले पनि गरिबहरुको पक्षमा बोल्नुभएन । लघुवित्तको ज्यादतीको पक्षमा बोल्नुभएन । मेरो उम्मेदवारी उहाँहरुको पक्षमा हो । म त्यहाँबाट सांसद भएर जाँदैछु । यो कुरा प्रष्ट हुनुस्,’ उनले भने ।

 

तपाईको प्रतिक्रिया