×

चितवन–माघ १२ गतेदेखि नारायणी नदी किनारमा सुरु भएको साङ्ग–बिराट्–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञ फागुन १५ गतेसम्म लम्बिएको छ । यसअघि फागुन १२ गते महायज्ञ सम्पन्न गर्ने भनिएकामा निर्धारित समयमा तर्पण र मार्जनका कर्महरु बाँकी रहने देखिएपछि तीन दिन थप गरिएको आयोजकले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।

फागुन १५ गते अन्तिम दिन एक करोड ४९ लाख ८५ हजार दिप प्रज्वलन गरिने महायज्ञ संयोजक एवम् श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्का अध्यक्ष प्रेमनिधी भारद्धाजले जानकारी दिए । दिप प्रज्वलनका लागि फागुन १० गतेसम्म आ–आफ्नो आमा समूह, संघसस्था तथा व्यक्तिले नाम दर्ता गर्न उनले आग्रह गरे । महायज्ञको अन्तिम दिन फागुन १५ गते दिउँसो १२ बजेबाट दिप प्रज्वलन सुरु गरिने छ ।

उनका अनुसार शुक्रबारसम्म एक करोड दुई लाख पटक हवन गरिसकिएको छ । त्यस्तै, महायज्ञमा हालसम्म ६० लाख ३८ हजार ४८९ रुपैयाँ दान प्राप्त भएको छ । महायज्ञमा हालसम्म चरु खरिद गर्नुपरेको छैन । भक्तजनहरुले स्वस्फुर्त रुपमा चरु संकलन गरेर ल्याइरहेको उनले बताए ।

श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्मा शुक्रबारसम्म २२४ जना सनातनीहरु नयाँ आजिवन सदस्य बनेका उनले जानकारी दिए । श्रीसनातन संस्कृति संरक्षण अभियान र श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्को संयुक्त आयोजनामा महायज्ञ सुरु गरिएको हो । १००८ स्वामी ज्ञानानन्द सरस्वतीले शुक्रबार महायज्ञको अवलोकन पनि गरेका थिए । महायज्ञमा परशुराम पाण्डेय प्रमुख वाचक रहेका छन् ।

तपाईको प्रतिक्रिया