
गैंडाकोट । नेपाली नाट्यसम्राट बालकृष्ण समको १२१ औँ जन्मजयन्तीका अवसरमा बालकृष्ण समको व्यक्तित्व, कृतित्व र योगदानको चर्चा सहित त्रिवेणी साहित्य परिषद नवलपुरले मंगलवार गैंडाकोटमा कविता वाचन कार्यक्रम सप्पन्न गरेको छ ।
वरिष्ठ साहित्यकार गोबिन्दराज बिनोदिको प्रमुख आथित्यतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै विनोदीले नेपाली वाङ्मयका विशिष्ट साधक बालकृष्ण समले कविता, नाटक, कथालगायत विधामा उत्कृष्ट कृति रचना गरी नेपाली वाङ्मयको क्षेत्रमा उत्तिकै विशिष्ट योगदान दिएको बताउदै समको स्मृतिमा कविता वाचन गरेका थिए ।
कार्यक्रमका अर्का सहभागी प्राध्यापक एवं साहित्यकार रामहरी शर्मा सराहले सम राणा वंशमा जन्मिएता पनि प्रजातन्त्र, न्याय अनि समानताका साथै राष्ट्र प्रति सधैँ चिन्तित रहने गरेको बताउदै समको चित्रकारिता र अभिनयका क्षेत्रमा पनि उत्तिकै झुकाव रहेकोे बताए ।
परिषदका कार्यवाहक अध्यक्ष अध्यक्ष इन्द्र राज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नाट्यकार मुकुन्द खलपात्र, धर्मानन्द शर्मा, मुना धनन्जय, टंक राज ढकाल, उदयराज रेग्मी , मुक्ती राम शर्मा, प्रेम अधिकारीले समको योगदानबारे चर्चा गरे । कार्यक्रम परिषदका सचिब भिम शर्माको सहजीकरणमा सम्पन्न भएको थियो ।