– गणेश अधिकारी 

सामान्यतया ३ देखि ६ वर्ष उमेर समूहका बालबालिकालाई खेलौनाका माध्यमबाट खेल खेलाउँदै सिकाउने पद्धतिलाई मन्टेश्वरी शिक्षा पद्धति भनिन्छ । २० औँ शताब्दीमा इटालीकी एजुकेटर तथा फिजिसियन मारिया मन्टेश्वरीले प्रारम्भ गरेको यो शिक्षण पद्धति अहिले विश्वभर लोकप्रिय भएको छ । साथै नेपालमा पनि यसको लोकप्रियता चुलिँदो छ । मन्टेश्वरी शिक्षाले विद्यार्थीको चौतर्फी विकासमा सहयोग गर्छ । यस पद्धतिले विद्यार्थीलाई पढाउने भन्दा पनि उनीहरूको क्षमता पहिचान गरी सोहीअनुसार सिकाइको पद्धति अपनाउँछ । यो विद्यार्थीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन सहयोगी बन्छ साथै यसले विद्यार्थीमा शैक्षिक उपलब्धीको साटो प्रत्येक बालबालिकामा उत्प्रेरणा जगाउने काम गर्छ । यसमा शैक्षिक तथा प्राकृतिक वातावरणमा सामाजिक अन्तरक्रियाद्धारा  मनोवैज्ञानिक ढङ्गले अभ्यास गराइन्छ ।

सिकाइको प्रक्रिया खेलकुदका विभिन्न माध्यम सामग्रीद्वारा पूरा गरिन्छ । यो खेल्दै सिक्दै गर्ने ठाउँ पनि हो । प्रत्येक बालबालिकाले उमेरअनुसार विभिन्न तह पार गरेका हुन्छन् । भनौँ– मन्टेश्वरीमा विद्यार्थीलाई खेलौनाको माध्यमबाट क्षमता पहिचान गरी सिकाइन्छ । यसमा लेगो ब्लक्स तथा विभिन्न चित्रहरूका टुक्राहरू दिइन्छ र उनीहरूलई जोड्न लगाइन्छ । यसरी विद्यार्थीले कसरी चित्रहरूलाई सही क्रमअनुसार जोड्न सक्छ भनी हेरिन्छ र विद्यार्थीले उक्त चित्रलाई कसरी कुन आकार दिन्छ भन्ने पनि हेरिन्छ । यी सबैको पछाडिको कारण बालबालिकालाई खेलको माध्यमबाट सिकाउनु नै हो । इटालीका मारिया मन्टेश्वरीले विकास गरेको मन्टेश्वरी शिक्षण विधि बालबालिकालाई मनोरञ्जनात्मक वातावरणमा शिक्षा दिने विधि हो । मनोरञ्जनात्मक, सृजनात्मक र प्रयोगात्मक मानिने मन्टेश्वरी शिक्षा पछिल्लो समयमा प्रभावकारी मानिँदै आएको छ । ‘लर्निङ विथ प्लेइङ’ सिद्धान्तमा आधारित रहेकाले नै यो विधि प्रभावकारी मानिएको हो । मन्टेश्वरी शिक्षा बालबालिकाले खेल्दा—खेल्दै आफै ज्ञान बटुल्ने शिक्षण विधि हो । मन्टेश्वरीमा बालबालिकाको मनोविज्ञान बुझेर प्रत्येक विद्यार्थीको क्षमता पहिचान गरी अध्यापन गराइन्छ ।

मन्टेश्वरी सिकाइ विधिअन्तर्गत प्रयोगशालामा राखेर प्रयोगात्मक अभ्यास गराउने, विभिन्न खेलहरूबाट स्मरण शक्ति बढाउने, जुन पाठ पढाइँदैछ त्यससँग सम्बन्धित स्थलगत अवलोकनमार्फत  सम्बन्धित विषय वा स्थानको ज्ञान दिने आदि काम हुन्छ । उदाहरणका लागि जनावरहरूका बारेमा पढाउँदा चिडियाघरको भ्रमण गराउने, जुन वस्तुका बारेमा पढाइँदैछ त्यही वस्तुलाई नै कक्षा कोठामा ल्याएर देखाउने, मुभी कक्षाहरू सञ्चालन गर्ने, आर्ट एन्ड क्राफ्ट आदिबाट सिकाउने । प्रयोगात्मक एवम् व्यावहारिक सिकाइबाट बालबालिकामा क्षमताको विकास हुने, स्मरण शक्ति बढ्ने, पढाएको कुरा राम्रोसँग बुझ्ने, आत्मविश्वास बढ्ने, भ्रम निराकरण हुने, सकारात्मक सोच अभिवृद्धि हुने, सिर्जनशीलता बढ्ने, चुनौती सामना गर्न सक्ने सीप एवम् क्षमताको विकास हुने कुरा मन्टेश्वरी सिद्धान्तमा उल्लेख छ ।

व्यवहारिक ज्ञान तथा सीपयुक्त शिक्षण पद्धति अपनाउन विद्यालयको वातावरण फरक किसिमले तयार गर्नुपर्छ । दुई वर्षका बालबालिकाको कक्षा कोठामा कापी वा पेन्सिलको आवश्यकता पर्दैन । त्यो उमेरका बालबालिकाको कक्षाकोठामा प्रयोगशालाका सामग्रीहरू, सीप विकास गर्ने सामग्री, आँखा र हातका गतिविधिको तालमेल हुने गरी अभ्यास गराउन आवश्यक पर्ने सामग्री, सीधा अगाडि हिँड्न सक्ने अभ्यास, पालो पर्खिने बानी, समूहमा काम गर्ने बानीका लागि आवश्यक सामग्री, अरूको कुरा सुनेर आफ्नो कुरा बताउन सक्ने सीप, विभिन्न अवस्था बुझाउने रङ्गीन तस्विरहरू, बौद्धिक खेलका सामग्रीहरू, मनोरञ्जक एवम् सिर्जनात्मक खेल सामग्रीहरू आवश्यक हुन्छन् । यसरी व्यावहारिक ज्ञान दिएर परिपक्क  बनाउँदै लेख्न र पढ्न सिकाउँदा सानो उमेरदेखि नै बालबालिकाको सर्वाङ्गीण विकास हुन थाल्छ ।

यस प्रकारको पूर्ण शिक्षा प्रदान गर्न तालिमप्राप्त शिक्षकका साथै विभिन्न शैक्षिक तथा खेल सामग्री आवश्यक हुने हुँदा विद्यालयले त्यसको चाँजोपाँजो मिलाउनुपर्छ । अभिभावकहरूले पनि सम्भव भएसम्म घरमा शैक्षिक तथा मनोरञ्जक वातावरण निर्माण गरिदिनुपर्छ । मन्टेश्वरी सिकाइ प्रणाली अवलम्बन गर्ने विद्यालयबाट प्राप्त हुने शिक्षा चेतनशील मानिसका लागि ज्यादै उपयोगी हुन्छ । यद्यपी मन्टेश्वरी नाम राखेर खुलेका सबै विद्यालयबाट त्यस्तो व्यावहारिक शिक्षा एवम् ज्ञान प्राप्त हुन्छ भन्ने छैन । मूल कुरा त त्यो विद्यालयले मन्टेश्वरी सिकाइ विधि बुझेको छ कि छैन, त्यसलाई व्यवहारमा कसरी अवलम्बन गरिरहेको छ, त्यहाँका शिक्षकहरूले मन्टेश्वरी सिकाइ प्रक्रियाका बारेमा दक्षता हासिल गरेका छन् कि छैनन् भन्ने हो । कुनै पनि मन्टेश्वरी विद्यालयमा आफ्ना नानीलाई राख्नुअघि सम्बन्धित अभिभावकले यी सबै कुरामा ध्यान पुर्याउनुआवश्यक छ ।

(लेखक अधिकारी कखरा मन्टेश्वरी गैँडाकाेटका प्रवन्ध निर्देशक हुन् )

तपाईको प्रतिक्रिया