नवलपुर- महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को ६३औँ वार्षिक लेखापरीक्षण प्रतिवेदनमा हुप्सेकोट गाउँपालिकाले उल्लेखनीय उपलब्धि हासिल गरेको छ। प्रतिवेदनअनुसार गाउँपालिकाको बेरुजु दर केवल ०.०१२० प्रतिशत रहेको छ, जसले हुप्सेकोटलाई नवलपुर जिल्लामै सबैभन्दा कम बेरुजु कायम गर्ने स्थानीय तह बनाएको छ।
यससँगै हुप्सेकोट गाउँपालिका गण्डकी प्रदेशभर न्यून बेरुजु हुने स्थानीय तहमध्ये दोस्रो स्थानमा परेको छ भने देशभरका स्थानीय तहमध्ये छैटौँ स्थान हासिल गर्न सफल भएको छ।
स्थानीय तहमा आर्थिक अनुशासन, पारदर्शिता र सुशासनको अभ्यास कमजोर बन्दै गएको चर्चा भइरहेका बेला हुप्सेकोटले भने उत्कृष्ट वित्तीय व्यवस्थापनमार्फत फरक पहिचान बनाएको छ। गाउँपालिकाको यो उपलब्धिलाई अहिले जिल्लाभर प्रशंसाका साथ हेरिएको छ।गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पान्डे ले यो सफलता कुनै एक व्यक्तिको नभई समग्र गाउँपालिकाको सामूहिक मेहनतको परिणाम भएको बताइन्।
उनले भनिन्, “जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाहरू सबै आर्थिक अनुशासन कायम गर्न प्रतिबद्ध भएर लाग्नुभयो। पारदर्शिता, जिम्मेवारी र सुशासनलाई प्राथमिकतामा राखेर काम गर्दा आज सकारात्मक नतिजा प्राप्त भएको हो।”अध्यक्ष पान्डेले आगामी दिनमा पनि यही कार्यशैलीलाई निरन्तरता दिँदै अझ प्रभावकारी सेवा प्रवाहमा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गरिन्।
उक्त अवधिमा गाउँपालिकाको प्रशासनिक नेतृत्व सम्हालेका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद पराजुलीको भूमिका पनि उपलब्धिमा महत्वपूर्ण रहेको गाउँपालिकाले जनाएको छ। योजना कार्यान्वयन, खर्च व्यवस्थापन र प्रशासनिक समन्वयलाई प्रभावकारी बनाउँदै वित्तीय अनुशासन कायम गर्न उनले महत्वपूर्ण योगदान दिएको उल्लेख गरिएको छ।
यसैगरी गाउँपालिकाका वरिष्ठ लेखा अधिकृत राजेन्द्र प्रसाद रेग्मीले वित्तीय अनुशासन र नियमित अनुगमनकै कारण न्यून बेरुजु कायम गर्न सफल भएको बताए।उनका अनुसार योजना कार्यान्वयन, खर्च व्यवस्थापन तथा भुक्तानी प्रक्रियामा कानुनी मापदण्ड कडाइका साथ पालना गरिएको थियो।
उनले भने,“हरेक खर्चलाई प्रमाण र प्रक्रिया अनुसार व्यवस्थित गरिएको छ। समयमै अभिलेख व्यवस्थापन, नियमित आन्तरिक नियन्त्रण तथा कर्मचारीहरूको जिम्मेवार कार्यशैलीले नै यो उपलब्धि सम्भव भएको हो।”
स्थानीय तहमा बेरुजु घटाउने विषय चुनौतीपूर्ण बन्दै गएको अवस्थामा हुप्सेकोट गाउँपालिकाले हासिल गरेको यो सफलता अन्य पालिकाका लागि पनि प्रेरणादायी बनेको छ।



उज्यालो खबर




