काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा डाँगीले प्रतिनिधि सभा र नयाँ संसद् भवनमा प्रयोग हुने भौतिक संरचनाको परनिर्भरतामाथि गम्भीर प्रश्न उठाएकी छन् ।
बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद डाँगीले सभामुख र सांसदहरू बस्ने कुर्सी कुन देशबाट आयात गरिएको काठबाट बनेको हो भन्दै सरकारको जवाफ माग गरेकी हुन् । उनले अघिल्लो कार्यकालदेखि नै आफूले यो प्रश्नको उत्तर खोजिरहेको समेत जानकारी गराइन् ।
बैठकमा विशेष समय लिएर बोल्दै उनले भनिन्, ‘दुई–तीन वर्ष पछि हामी नयाँ संसद् भवनमा जाँदैछौं र उक्त सदनमा सम्माननीय सभामुख र हामी सांसदहरू बस्ने कुर्सी कुन देशबाट ल्याइएको काठबाट बनेको हो ?’
नेपालमै पर्याप्त वन र काठ हुँदाहुँदै पनि विदेशबाट काठजन्य सामग्री आयात भइरहेको प्रसंग उठाउँदै उनले सरकारको ध्यानाकर्षण गराएकी हुन् । महालेखा परीक्षकको ६१ औं प्रतिवेदनलाई उद्धृत गर्दै उनले नेपालको आफ्नै काठको सही सदुपयोग नहुँदा वार्षिक अर्बौं रुपैयाँको काठ र फर्निचर विदेशबाट आयात भइरहेको तथ्याङ्क प्रस्तुत गरिन् ।
सरकारको नीतिगत कमजोरी र विरोधाभासमाथि प्रहार गर्दै सांसद डाँगीले भनिन्, ‘आज स्वदेशी काठ निकाल्न फाइल रोकिन्छ तर विदेशी काठ भित्राउन सजिलैसँग एलसी खुल्ने गर्छ, यो कस्तो किसिमको नीति हो ?’
उनले आफूले वन फँडानी गर्नुपर्छ भन्न नखोजेको स्पष्ट पार्दै देशसँग भएको प्राकृतिक धनको सही र वैज्ञानिक सदुपयोग हुनुपर्नेमा जोड दिइन् ।
विदेशी काठमाथिको परनिर्भरता पूर्ण रूपमा बन्द हुनुपर्ने बताउँदै डाँगीले नेपाली काठबाट बनेका फर्निचरको प्रयोगको सुरुवात संसद् भवन र सिंहदरबारबाटै गर्नुपर्ने माग अघि सारिन् । ‘म सभामुखमार्फत् सरकारलाई आग्रह गर्छु, यो परनिर्भरता बन्द गर्नैपर्छ, सुरुवात यही संसद भवन र सिंहदरबारबाट गरौं,’ उनले थपिन्, ‘त्यसपछि देशभित्र नेपाली काठबाट बनेका फर्निचर मात्र प्रयोग गर्ने नियम लागू गरौं ।’



उज्यालो खबर




