×

नवलपरासी (पूर्व) । नवलपरासी (पूर्व) को बिनयी त्रिवेणी गाउँपालिकामा गुडिरहेको यात्रुवाहक बस दुर्घटना हुँदा ६ जना भारतीय महिला घाइते भएका छन् ।

आज दिउँसो अन्दाजी ४:०० बजेको समयमा बिनयी त्रिवेणी गाउँपालिका वडा नं. २, घ्यूखोला स्थित पूर्व-पश्चिम राजमार्गमा भारतबाट काठमाडौंतर्फ आउँदै गरेको UP62DT 2780 नम्बरको यात्रु बस अचानक ब्रेक फेल भई दुर्घटना भएको हो । दुर्घटनाका बेला बसमा ३५ जना यात्रु सवार थिए ।

दुर्घटनामा परी भारतको महाराष्ट्र बस्ने ६२ वर्षीया सुशिला निगोत, ६९ वर्षीया सुशिला जिसिमुख र ५८ वर्षीया संगिता बिसिनेत मध्यम घाइते भएका छन् । उनीहरूको ढाड, कम्बर, टाउको र अनुहारमा चोट लागेको छ । यस्तै, ४७ वर्षीया भासुली कादम, ४८ वर्षीया रेखा टाउरे र ४५ वर्षीया योगिता बलेरौ सामान्य घाइते भएका छन् ।

घाइतेहरूलाई तत्काल उद्धार गरी बिनयी त्रिवेणी आधारभूत अस्पताल दुम्किबासमा सामान्य उपचार पश्चात् थप उपचारका लागि डण्डास्थित मध्यबिन्दु प्रादेशिक अस्पताल पठाइएको छ । भारतको आजगड जिल्ला घर भएका ४९ वर्षीय बस चालक अनिल कुमार र बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनापछि पनि राजमार्गमा बाटो अवरोध नभएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया