×

काठमाडौं- प्रधानन्यायाधीश मनोजकुमार शर्मा ले न्यायपालिकाको संस्थागत स्वतन्त्रता, न्यायाधीशहरूको व्यावसायिक निष्पक्षता तथा न्याय सम्पादन प्रक्रियाको मर्यादामा कुनै प्रकारको हस्तक्षेप स्वीकार नगरिने बताएका छन्।

मंगलबार सर्वोच्च अदालतमा पदभार ग्रहण गरेपछि आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले स्वतन्त्र, निष्पक्ष, सक्षम र जनविश्वासयुक्त न्यायपालिकाको निर्माण तथा संरक्षण आफ्नो कार्यकालको मुख्य ध्येय हुने बताए।

प्रधानन्यायाधीश शर्माले न्यायपालिकालाई संविधानको संरक्षक, मौलिक अधिकारको प्रत्याभूतिकर्ता तथा लोकतान्त्रिक शासन व्यवस्थाको प्रमुख स्तम्भको रूपमा व्याख्या गर्दै न्यायपालिकाको स्वतन्त्रतामा कुनै सम्झौता नहुने स्पष्ट पारे।

उनले आफ्नो पहिलो प्राथमिकता स्वतन्त्र न्यायपालिकालाई पूर्ण रूपमा अक्षुण्ण राख्नु रहेको उल्लेख गर्दै न्याय सम्पादन प्रक्रियामा शंका उत्पन्न हुने कुनै पनि गतिविधि आफूबाट नहुने र हुन पनि नदिइने विश्वास दिलाए।

तपाईको प्रतिक्रिया