चितवन । कम्प्युटर एशोसिएशन अफ नेपाल (क्यान) महासंंघ, चितवनको अध्यक्षमा टेकलाल भुसाल निर्वाचित भएका छन् । शनिवार भरतपुरमा सम्पन्न क्यान महासंघ चितवनको १७औं साधारणसभा तथा आठौं अधिवेशनले भुसाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
यसैगरी उपाध्यक्षमा दिलीपकुमार तामाङ, कोषाध्यक्षमा रूपक नेपाल, सचिवमा कृष्ण पोख्रेल र सहसचिवमा अनिता भुसाल चयन भएका छन् । सदस्यहरूमा विनोद सापकोटा, असीम ढुंगाना, प्रदीप महतो, तारानाथ बराल, लक्ष्मी रिमाल पौडेल, अजय गौतम र लीलानाथ भुसाल चयन भएका हुन् ।
अधिवेशनको उद्घाटन कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले क्यान महासंघ चितवनले वस्तुगत संघमार्फत सूचना प्रविधिको क्षेत्रमा उल्लेख्य काम गर्दै आएको बताए । चितवनलाई आर्थिक हब बनाउनुपर्नेमा जोड दिँदै उनले यसका लागि सूचना प्रविधिको भूमिका महŒवपूर्ण हुने धारणा राखे ।
हालका दिनहरूमा व्यावसायिक क्षेत्र तरलता अभाव, चर्को ब्याज र महँगीको मारमा परेको भन्दै उनले राष्ट्र बैंकको चालू पूँजी कर्जा मार्गनिर्देशन संशोधन गरिनुपर्ने बताए ।
क्यान महासंघका केन्द्रीय उपाध्यक्ष कुशल रेग्मीले महासंघले ७७ ओटै जिल्ला र सातओटै प्रदेशमा शाखा विस्तार गरिसकेकोे जानकारी दिए । ‘महासंघले सूचना प्रविधिको क्षेत्रमा सरकारको नीति निर्माणमा सहकार्य गर्दै आएको छ,’ उनले भने, ‘डिजिटल नेपाल र स्मार्ट सिटीको अवधारणामा समेत महासंघ अघि बढेको छ ।’ महासंघले सरोकारवाला अन्तरराष्ट्रिय संस्थासँग पनि सहकार्य गरिरहेको उनले बताए ।