गैँडाकोट । नवलपुर प्रतिनिधि सभा सदस्य क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार चित्र ध्वज जि.सी ले आफ्नो उम्मेदवारीप्रति फैलाइएको अफवाहप्रति आपत्ति जनाउनुभएको छ । बिहीबार गैँडाकोट रिसोर्टमा पत्रकार सम्मेलन गर्दै उहाँले मतदाता समक्ष अन्य दल तथा उम्मेदवारले फैलाइएको अफवाहप्रति आपत्ति जनाउनुभएको हो ।
अन्य दल तथा उम्मेदवारले आफ्नो जित हुने पक्का देखेपछि डरले अफवाह फैलाएको उहाँको भनाई थियो । आफ्नो उम्मेदवारी निष्क्रिय पारेको, स्वतन्त्र भनेको दल र चुनाव चिन्ह भनेको अन्य रहेको जस्ता अनर्गल प्रचार गरेको उहाँको आरोप थियो । उहाँले अरु कसैलाई समर्थन नगरि आफु स्वतन्त्र उम्मेदवार रहेको बताउँदै आफ्नो चुनाव चिन्ह क्रस खुकुरी नै रहेको बताउनुभयो ।
आँफूले बोलेर भन्दा पनि विकास गरेर देखाउने बताउँदै उहाँले पुस्ता हस्तान्तरण र सामाजिक रुपान्तरणका लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभयो । घरदैलो अभियान पश्चात मतदाताले दिएको आश्वासन र व्यक्त गरेका अभिव्यक्तिले आफ्नो जित सुनिश्चित रहेको दावी गर्नुभयो ।
उम्मेदवार जि.सी ले आँफू निर्वाचित भएपछि नवलपुर जिल्लालाई सक्षम जिल्ला बनाउने बताउनुभएको छ ।
स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, खेलकुद, भौतिक तथा पूर्वाधार विकास साथै युवा व्यवस्थापन र रोजगारमा आफ्नो विशेष ध्यान दिने उहाँले बताउनुभयो ।जेसीजको लोकोक्ति जस्तै एक व्यक्ति, एक पद, एक कार्यकाल मात्रै आफुँ उम्मेदावर बन्ने बताउँदै उहाँले अर्को निर्वाचनमा अर्को नयाँ युवालाई हस्तान्तरण गर्ने जिकिर गर्नुभयो । साथै उहाँले कसैको प्रलोभनमा आफ्नो उम्मेदवारी निष्क्रिय नबनाउने बताउनुभयो । उहाँले पाँच ‘ज’ (जनशक्ति, जलस्रोत, जडिबुटी, जमिन र जंगल) को प्रयोगको नीति स्थानीय सरकारलाई दिनुपर्ने माग राखेर अघि बढेको बताउनुभएको थियो ।



उज्यालो खबर




