देवचुली । नवलपुर प्रतिनिधि सभा सदस्य क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार चित्र ध्वज जि.सी.ले घरदैलो अभियानमा मतदाताले व्यक्त गरेका अभिव्यक्तिले आफ्नो जित सुनिश्चित रहेको दावी गर्नुभएको छ । देवचुलीको पिप्रहरमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले सामाजिक रुपान्तरणका लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभयो ।

पुस्ता हस्तान्तरण र भ्रष्टचार विरुद्ध अभियानका लागि स्वतन्त्र उम्मेदवारलाई चयन गर्न उहाँको आग्रह गर्दै जिसीले बोलेर भन्दा पनि विकास गरेर देखाउने जिकिर गर्नुुभयो । स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, खेलकुद, भौतिक तथा पूर्वाधार विकास साथै युवा व्यवस्थापन र रोजगारमा आफ्नो विशेष ध्यान दिने बताउँदै उम्मेदवार जि.सि.ले आँफू निर्वाचित भएपछि नवलपुर जिल्लालाई सक्षम जिल्ला बनाउने उहाँको भनाई छ ।

जेसीजको लोकोक्ति जस्तै एक व्यक्ति, एक पद, एक कार्यकाल मात्रै आफैँ उम्मेदवर बन्ने बताउँदै उहाँले अर्को निर्वाचनमा अर्को नयाँ युवालाई हस्तान्तरण गर्ने प्रष्ट पार्नुभयो । कसैको प्रलोभनमा आफ्नो उम्मेदवारी निष्क्रिय नबनाउने उहाँको प्रष्टोक्ती थियो । उहाँले पाँच ’ज’ (जनशक्ति, जलस्रोत, जडिबुटी, जमिन र जंगल) को प्रयोगको नीति स्थानीय सरकारलाई दिनुपर्ने माग राखेर अघि बढ्ने बताउनुभएको छ । पत्रकार सम्मेलनमा जि.सी.ले आफ्नो घोषणापत्र सार्वजनिक गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया