चितवन । प्रेस चौतारी चितवनले स्थापना गरेको पत्रकार कल्याणकारी कोषका धमाधम सहयोग संकलन भएको छ । हालै जन्मदिन परेका तीन जनाले २५ हजार रुपैयाँ सहयोग गर्नुभएको हो ।

प्रेस चौतारीका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज प्रतिमा सिलवालले पाँच हजार रुपैयाँ, जिल्ला अध्यक्ष सुवास पण्डितले १० हजार रुपैयाँ र वैदेशिक रोजगारीका लागि हाल जापानमा रहनु भएका मिलन पौडेलले १० हजार रुपैयाँ सहयोग गर्नुभएको हो । लामो समयसम्म चितवनमा बसेर पत्रकारिता गर्नुभएका पौडेल प्रेस चौतारी चितवनका सदस्य हुनुहुन्छ ।

चितवनका पत्रकारहरुको संरक्षण र क्षमता विकासका लागि प्रेस चौतारीले पत्रकार कल्याणकारी कोषको स्थापना गरेको छ । पत्रकारहरु बिरामी वा दुर्घटनामा परी उपचार गर्नु पर्ने अवस्थामा निजको आर्थिक अवस्थाले थेग्न नसक्ने अवस्था आएमा कोषको रकमले उपचार गरिने अध्यक्ष पण्डितले बताउनुभयो । तर त्यसको लागि प्रेस चौतारी चितवनको सदस्य वा चितवनको क्रियाशील पत्रकार हुनुपर्ने प्रावधान रहेको छ ।

प्रेस स्वतन्त्रताको पक्षमा दृढतापूर्वक उभिएको र यसको पक्षमा संघर्षरतलाई प्राथमिकता दिइने उहाँले बताउनुभयो । प्रेस चौतारी आवद्ध कुनै सदस्यको मृत्यु भएमा कोषबाट आर्जित व्याज तथा अन्य सहयोगबाट २० हजार रुपैयाँ उपलब्ध गराइएने उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया