चितवन । नेपाल प्रेस युनियनका नवनिर्वाचित अध्यक्ष शिव लम्सालले श्रमजीवी र कलमजीवीका पक्षमा काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रममा उहाँले नेपालमा पत्रकारिता क्षेत्रमा देखिएको समस्या समाधान गर्दै श्रमजीवी र कलमजीवीको पक्षमा लाग्ने बताउनुभयो ।
पत्रकारको उन्नतिको बाटो पहिल्याउने गरी काम गर्ने जनाउँदै लम्सालले पत्रकारको आर्थिक, सामाजिकलगायतका पक्षमा सवलीकरण गर्न नेतृत्व गर्ने बताउनुभयो । प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको लडाइँमा प्रेस युनियन सधैँ अग्रमोर्चामा रहने उहाँको भनाइ थियो ।
उहाँले भन्नुभयो, “२०४८ मा गठन हुँदा लोकतन्त्र बचाउने प्रयोजन थियो, अहिले पत्रकारको उन्नति प्रगतिका बाटो पहिल्याउनुपर्ने देखिएको छ, विगतका अधुरा काम पूरा गर्ने चुनौती छन्, हामी देशकै बलियो र असल सङ्गठनका रुपमा विकास गर्नेछौँ ।”
कार्यक्रममा नवनिर्वाचित उपाध्यक्ष नकुल अर्याल, महासचिव दिलीप पौडेल, युनियनका निवर्तमान वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, नेपाली कांग्रेस चितवनका निवर्तमान सभापति जीतनारायण श्रेष्ठ, लगायतले बोल्नुभएको थियो । सो अवसरमा नवनिर्वाचित अध्यक्ष, उपाध्यक्ष, महासचिव तथा केन्द्रीय सदस्यलाई जिल्ला शाखाले सम्मान गरेको हो ।



उज्यालो खबर




