चितवन ।  भरतपुर आँखा अस्पतालले आफ्ना सबै स्वास्थ्यकर्मी÷कर्मचारीहरुका लागि प्रेरक प्रशिक्षण (मोटिभेसनल तालिम)  प्रदान गरेको छ। कर्मचारीहरुको व्यक्तिगत र पेशागत व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले शुक्रबार र शनिबार प्रेरक प्रशिक्षण प्रदान गरिएको अस्पतालका सूचना अधिकारी छायाँ श्रेष्ठले बताइन्।विगत २७ वर्षदेखि व्यवसायिकरुपमा प्रेरक प्रशिक्षण दिँदै आएका सहदेव महतले उक्त कार्यक्रमका प्रशिक्षक थिए। कार्यक्रमको सुरुआत उनी र उनकी पत्नी विद्या महतले आँखा दान गरेर गरिएको थियो।

प्रशिक्षक महतले महत्वपूर्ण स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी, कर्मचारीहरुले आफ्नो व्यक्तिगत र व्यवसायिक जीवनलाई सही व्यवस्थापन गर्न सक्दामात्रै सेवाग्राहीले गुणस्तरीय सेवा पाउन सक्ने बताए। ‘धेरै सरकारी कार्यालयका कर्मचारीको मानसिकता कसरी समय कटाउने, कसरी तलब लिने भन्नेमा केन्द्रीत देखिन्छ। तर मानसिक तनाबबाट मुक्त भएर आफूले पाएको जिम्मेवारी कसरी पुरा गर्ने भन्ने उनीहरु सोच्दैनन्,’ महतले भने, ‘यो तालिमले उनीहरुलाई जीवन जीउने कला सिकाउँछ। जागिरलाई कसरी सार्थक बनाउने भन्ने सिकाउँछ।’

आँखा अस्पतालका सूचना अधिकारी श्रेष्ठले तालिममा अस्पतालका एक सय जना स्वास्थ्यकर्मी तथा कर्मचारीहरु सहभागी भएको बताइन्। उनले सबैलाई आँखा दानका लागि प्रेरित गर्न कार्यक्रमको सुरुआत नै आँखा दानबाटै गरिएको बताइन्।भरतपुर आँखा अस्पतालले आँखा दान कार्यक्रमलाई अभियानकारुपमा सञ्चालन गर्दै आएको छ। अहिलेसम्म ८ सय २३ जनाले आँखा दान गर्ने प्रतिबद्धता जनाएका छन्। अस्पतालले अहिलेसम्म ११ जनाको आँखा निकालेको छ। यहाँ हालसम्म ९६ जनाको आँखा प्रत्यारोपण गरिएको श्रेष्ठले बताइन्।

आँखा अस्पतालमा रहेको आँखा बैंकमा मान्छेबाट निकालिएको आँखालाई प्रशोधन गरेर राख्न मिल्ने सुविधासम्पन्न मेसिन आवश्यक रहेको श्रेष्ठले बताइन्। उक्त मेसिन नहुँदा भरतपुर आँखा अस्पतालले काठमाडौंको तिलगंगा आँखा अस्पतालको सहयोगमा काम गर्दै आएको छ।

तपाईको प्रतिक्रिया