×

तिलक रिमाल

काठमाण्डौं। डा. प्रकाश पौडेल पेशाले सर्जन हुनुहुन्छ । उहाँको धेरैजसो समय बिरामीको चिरफार र सिउनमा नै बित्छ । जब फुर्सदको समय आउँछ उहाँलाई मुटुसरी धड्की यन्त्र चाहिन्छ । चिकित्सक विज्ञानले मुटुसरी धड्कीने नयाँ मुटु त पत्ता लगाएको छैन, तर उहाँले त्यसको खोजी गर्नुभएको छ ।

हो, पौडेल चिकित्सक मात्रै होइन गीतकार पनि हुनुहुन्छ । हालै उहाँले लेख्नु भएको गीत “स्वतन्त्र मन” सार्वजनिक भएको छ । उहाँको गीतले त्यही मुटुसरी धड्किने यन्त्र खोजेको छ । गीतले भन्छ “तिमी बिना बाच्न सक्ने मन्त्र चाहियो, मुटु सरी धड्कीरहने यन्त्र चाहियो ।” यस गीतलाई प्रसिद्ध गायक उदित नारायण झाले स्वर र संगीतकार राज सागरले संगीत दिनुभएको छ ।

गीतको भिडिओमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री वर्षा राउतले अभिनय गर्नुभएको छ । कैलाश स्टुडियो मुम्बईमा रेकर्ड गरिएको उक्त गीत भिडिओ डिआरपिपी क्रियसनको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

डा। पौडेलको यो गीत भने पहिलो होइन । यस अघि पनि उहाँले यादका लहरहरु, फूलकुमारी लगायतका गीतहरु सार्वजनिक गरिसक्नु भएको छ । ती गीतहरुले राम्रो प्रशंसा पाएपछि गीत लेख्ने थप हौसला मिलेको डा। पौडेलले बताउनुभयो ।

स्वर संगीत र शब्दको राम्रो तालमेल रहेको स्वन्तत्र मनले गीतकार पौडेललाई पनि बेग्लै किसिमको आनन्द दिलाएको छ । उहाँले भन्नुभयो “सानैदेखि गायक उदित नारायण झाको ठूलो प्रशंसक थिएँ । उनै प्रिय गायकको स्वरमा आफ्नो सृजना गुन्जिदा खुसी नहुने कुरै भएन ।” गीतको अडियो र भिडियो पक्षलाई लिएर कहि कतैबाट हालसम्म नकारात्मक टिप्पणी नआएको उहाँको भनाई छ ।

गीतकार डा।पौडेल यो गीत सृजना हुनुमा बेग्लै किसिमको अनुभव रहेको बताउनुहुन्छ । उहाँको अनुभव छ “यादका लहरहरु गीतको काम हुँदै गर्दा मलाई केहि शब्दहरुले जिस्काईरहेका थिए ति शब्दहरुलाई मैले डायरीमा टिपेको थिएँ । जब कोभिडको लहर विश्वभरी फैलियो मान्छेहरुमा एक किसिमको निराशा आंतक र भयले सबैलाई गाजेको थियो र मान्छेहरु आफुलाई कारागार भित्रको एक बन्दी कैदी जस्तै अनुभूति गरिरहेका थिए । कयौ कवि लेखकहरुले कवि माधव घिमिरेको कविता पिंजडाको सुँगा शैलीमा लेख कविता गीत प्रकाशित गरिरहेका थिए । मैले पनि त्यहि शैलीमा एउटा कविता लेखेको थिए पिँजडाको मान्छे । त्यो कविता लेखेको केहि दिन पछि मलाई अर्कै किसिमको अनुभव भयो । मान्छेहरु अहिले यो समयमा स्वतन्त्र छन् ।

आफुले आफुलाई समय दिन पाएका छन् सबै जंजिरहरुबाट केही राहत पो पाएको छन् जस्तो लाग्यो । हिजोका दिनमा मान्छेहरु आफु आफुसँगै रमाउने आफैलाई समय दिने फुर्दै पाएको थिएनन । घर परिवार काम पैसा नाम आदिको तनाव र जंजिरबाट उम्किन सकिरहेको थिएन, कमसेकम अहिले केही दिन भए पनि मान्छेहरु आफुसँग रमाउन पाएका छन् । सारा जंजिरहरुबाट केही समय मुक्तिको सास फेर्न पाएका छन् कसरी बन्दी भए भन्ने भावले मेरो मनलाई छायो । यसै सन्दर्भमा मैले मलाई मेरो मन स्वतन्त्र चाहियो भन्ने शब्द लेखे । त्यसपछि केही समय पहिला लेखेको शब्द सम्झिन पुगेँ मुटु सरी धड्कीरहने यन्त्र चाहियो । त्यस पछि यिनै शब्दहरुसँग खेल्दै यो गीतलाई तयार पारे । गीत लेख्दै गर्दा गायक उदित नारायणको आवाजमा यो गीत रेकर्ड गर्ने सोच बनाएँ, गीत त्यसै अनुरुप तयार पारेँ, संगीतकार राज सागरले संगीत तयार पार्नु भयो, उदित नारायण झाले गाउनु भयो गीत तयार भयो ।”

चिकित्सा पेशामा सर्जन जसरी प्रयोग र कामले खारिंदै जान्छ कला, साहित्य संगीत भनेको पनि प्रयोग गर्ने थलो भएको उहाँको बुझाई छ । उहाँले भन्नुभयो “जसले प्रयोग गर्न जान्दछ उसका सृजनाहरुलाई सबैले रुचाईदिन्छन् ।” आफूले आफ्नो सृजनाहरुमा प्रयोग गर्न रुचाउने बताउनुहुने पौडेलले सानै उमेरदेखि कविता, गीत, निबन्ध, कथाहरु लेखेर कैयौं पटक पुरस्कृत भएको अनुभव सुनाउनुभयो । उहाँले विगतलाई सम्झँदै भन्नुभयो “कुनै समय मेरा कथा कविताहरुले नेपालका नाम चलेका पत्रपत्रिकामा राम्रै स्थान पाउँदथे । त्यतिखेरको साहित्यिक जोस बेग्लै थियो । नलेखी बस्नै नसक्ने केही न केही लेखिरहन पर्ने, लेख्न मन लाग्ने ।”

गीत कविता लेख्ने प्रेरणा कसैको कथा कविता पढेरभन्दा पनि गीत संगीत सुनेर मिलेको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो “गीत संगीतको म ठूलो शुभचिन्तक हुँ । त्यसबेला रेडियोमा बज्ने गीतहरु मेरा प्रेरणाका श्रोत हुन् । तिनै गीत संगीतले मलाई लेख्ने प्रेरणा दिएका हुन् ।”

थोरै काम गर्ने तर राम्रो सृजनाहरु सार्वजनिक गर्ने लक्ष्य राख्नु भएको गीतकार पौडेल हेर्ने भन्दा सुन्ने गीतहरु बजारमा ल्याउने चाहना राख्नुहुन्छ ।उहाँले अगाडि भन्नुभयो “सस्ताभन्दा राम्रामा बढी ध्यान दियौ भने नेपाली गीत संगीतको अहिलेको यो अवस्था धेरै लामो समय टिक्दैन । मेरो उद्देश्य नेपाली गीत संगीतमा राम्रा सृजना मार्फत नेपाली सांगीतिक क्षेत्रको गरिमालाई माथि लैजानुमा केन्द्रित छ अहिले त्यसैमा लागिरहेको छु ।”

सांगीतिक क्षेत्रमा प्रवेश गरिसक्नु भएका पौडेल यसबाट अलग हुन नसक्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो “मेरो चिकित्सक पेशा छँदै छ, त्यसका अलवा सांगीतिक क्षेत्र पनि मेरो भईसक्यो । यसबाट अलग रहन सक्दिन ।”धेरैका चहराईरहेका घाउँहरु निको पार्नुभएका डा। पौडेलले संगीत श्रवणबाट पनि धेरैका मन जित्न सफल हुनुभएको छ । उहाँले भन्नुभयो “गीतले विचलित मनहरुलाई आनन्दित तुल्याउँछ । दुखेका मनहरुमा मल्हमको काम गर्छ ।”

तपाईको प्रतिक्रिया