चितवन । आज पुस २३ गतेदेखि नेकपा एमाले चितवनको दसौँ जिल्ला सम्मेलन सुरु भएकाे छ । सम्मेलनले ३ वर्षको लागि नयाँ कार्यसमिति चयन गर्दैछ । एमालेको जिल्ला अध्यक्षमा दाबेदारी गर्नेहरूमध्ये रामप्रसाद न्यौपाने बलिया उम्मेदवारका रुपमा देखिएका छन् । २०३४ सालमा माडीमा जन्मिएका न्यौपाने २६ वर्षदेखि नेकपा एमालेको पूर्णकालिन कार्यकर्ताको रूपमा कार्यरत छन् । राजनीतिसँगै समाजसेवासमेत गर्दै आएका न्यौपाने विभिन्न सामाजिक संघसंस्थामा बसेर क्रियाशील छन् । चितवनको माडीमा तत्कालिन माओवादीले गराएको चर्चित बाँदरमुढे बम काण्डका गम्भिर घाइतेहरुका पहिलो उद्दारकर्ता न्यौपाने नै हुन् । नेकपा एमाले भित्र युवा पुस्ताको आशा बनेका उनी अग्रजले विश्वास गर्न सक्ने भरोसायुक्त रोजाइ पनि हुन् । नेकपा एमाले चितवन हाँक्न तत्पर रहेका न्यौपाने एमाले चितवनमा आफ्नो उम्मेदवारीको दाबेदारी यसरी प्रस्तुत गर्छन् :

म २०३४ साल असार १२ गते माडीको तत्कालिन कल्याणपुर गाविस हाल माडी नगरपालिका ७ मा जन्मिएँ । मेरो परिवार पहिलेदेखि नै राजनीतिक थियो । दाइ अखिल पाचौँको नेता हुनुहुन्थ्यो । त्यसैले हाम्रो परिवार सँधैजसो प्रहरी प्रशासनको नोटिसमा परिरहने । पटक पटक प्रहरीले घरमै आएर दिने धम्कीले, दबाबले होला ममा पनि विस्तारै पञ्चायत विरोधी मानसिकता पर्दै गएछ ।म त्यो समयमा माडीको हरीनगर माध्यामिक विद्यालयमा पढ्थेँ । पञ्चायतले जनताले रैती ठान्ने परम्पराको विरोध बाल मस्तिष्कदेखि नै पार्न होला स्कुल तहमा नै अखिल नेपाल विद्यार्थी युनियनका संगठनहरु निर्माण हुन्थे त्यो बेला । म पनि कक्षा ५ मा पढ्दादेखि नै तत्कालिन बाल अखिलमा संगठित भएँ ।
कक्षा ६ मा पढ्नेबेला २०४६ सालको जनआन्दोलन सुरु भयो । पञ्चायत फाल्नैपर्छ भन्ने मानसिकता थियो । म हरीनगर विद्यालयमा नै सहप्रारम्भिक कमिटीमा आवद्द थिएँ । त्यहीबाट माडीमा नै फूच्चे कमरेडको रुपमा जनआन्दोलनमा सहभागी भएँ ।

यसरी बढ्यो राजनीतिक यात्रा

एक किसिमले भन्दा ममा बाल्यकालदेखि नै राजनीतिक चेत आउन थाल्यो । कक्षा ५ मा पढ्दादेखि नै संगठनको अनुभव हुन थाल्यो । त्यसपछि आजसम्म कम्युनिष्ट (एमाले) को राजनीतिक मूलधारबाट बाहिर गएको छैन ।म सह प्रारम्भिक कमिटी हुँदै अनरेरास्ववियु प्रारम्भिक कमिटीको दुई पटक इलाका अध्यक्ष भएँ । माडीबाट माध्यामिक तहको अध्ययन पूरा गरेपछि २०५१ सालमा उच्च शिक्षाको लागि भरतपुर आँए, अनेरास्ववियु जिल्ला कमिटीमा आवद्द भएँ ।

२०५१ सालमा अनेरास्ववियु जिल्ला कमिटी सदस्य र २०५२ सालमा पनि जिल्ला कमिटी सदस्यकै रुपमा जिम्मेवारी निभाएँ । २०५३ मा भएको जिल्ला अधिवेशनले मलाई सचिवको जिम्मेवारीमा ल्यायो । पार्टीमा निरन्तर आवद्दता देखेर होला मलाई २०५३ सालदेखि नै पार्टीले पूर्णकालिन कार्यकर्ता बनायो ।त्यसपछि २०५५ साल र २०५६ साल गरि दुई पटक अखिलको जिल्ला अध्यक्ष भएँ ।

अखिलमा रहँदै २०५५ सालमा पार्टीको गाउँ कमिटी इन्चार्ज थिएँ । २०५७ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्य र नारायणी अञ्चल इन्चार्ज भएँ।२०५९ सालदेखि पार्टीको क्षेत्रीय कमिटीमा रहेर काम गरेँ ।२०६३ को जिल्ला अधिवेशनबाट जिल्ला कमिटीमा निर्वाचित भएँ ।पार्टी एकताबाट नेकपा भएपछि भरतपुर महानगरको अध्यक्ष भएँ । हाल एमाले जिल्ला सचिवालय सदस्य र बागतमी प्रदेश सदस्यको भूमिकामा छु ।

पुराना पुस्ता र नयाँ पुस्तालाई जोड्नु मुख्य जिम्मेवारी

हामी पार्टीको दसौँ जिल्ला सम्मेलन भव्यताका साथ गर्दैछौँ । यो सम्मेलनबाट जिल्लाको नेतृत्व लिनेगरि अघि बढ्न तयार भएको छु । २६ वर्षदेखि नेकपा एमालेको पूर्णकालिन कार्यकर्ता भएर अघि बढ्दा मैले म भन्दा माथिल्ला पुस्ता जसले पार्टीलाई अघि बढाउन भूमिगत राजनीतिक जीवन बिताउनुभयो, उहाँहरुसँग काम गरेको छु । सँगै अनेरास्ववियुमा रहेर युवा पंति जो तत्काल ‘एक्सन’ चाहन्छन् उनीहरुसँग पनि काम गरेँ ।यसहिसाबले भन्दा म हामीभन्दा सिनियर र युवा दुबै तहका नेता कार्यकर्ताको मनोभाव बुझ्न सक्छु । हाम्रो पार्टीमा तत्कालको आवश्यकता सिनियर र युवा वर्गको मनोभावना बुझेर उनीहरुबीच समन्वय गर्नु हो । मसँग दुबै पुस्तालाई सम्मान र जिम्मेवारी दिएर अघि बढ्न सक्ने नीति र योजना छ ।

हुन त मलाई अहिल्यै जिम्मेवारी लिनको लागि महत्वकांक्षी भयो भन्ने टिप्पणी पनि सुनिरहेको छु । राजनीतिमा सबैभन्दा महत्वपूर्ण पक्ष सुझबुझपूर्ण नेतृत्व र शिघ्र निर्णय क्षमता हो । चितवनमा अहिले १६ हजार पार्टी कार्यकर्ता छन् । हामी एक वर्षभित्रमा २५ हजार पार्टी कार्यकर्ता पुर्याउनुपर्ने जिम्मेवारीमा छौँ । मैले जिल्लामा बसेर पार्टीको हरेक अप्ठ्यारोमा मूल पंतिमा बसेर काम गरिरहेको अनुभवबाट पनि भन्छु मसँग नेतृत्व गर्ने क्षमता छ ।अर्को मुख्य कुरा राजनीति उमेरले गर्ने विषय होइन । समयको आवश्यकताले राजनीतिले डोर्याउने रहेछ । यो कुरा अहिलेको हाम्रो जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य पार्वती रावलको नेतृत्वले पुष्टि गरिसकेको छ ।

हुन त चितवनमा मेरा सिनियर नेतृत्वहरु कृष्ण भूर्तेल, तेजेन्द्र खड्का लगायतका कमरेडहरु अध्यक्षको आकांक्षी हुनुहुन्छ । उहाँहरु जिल्ला नेतृत्वमा आउन इच्छा देखाउनु स्वभाविक हो । विशेष गरेर भूर्तेल कमरेडले केन्द्रमा पनि इच्छा देखाउनुभएको थियो । त्यहाँ परिवेश मिलेन र जिल्लामा पनि आकांक्षा देखाउनुभएको छ । विशेष गरेर उहाँहरुलाई हाम्रो पार्टीले यसअघि पनि जिम्मेवारी दिएको छ । भूर्तेल कमरेडलाई कहिले गाविस अध्यक्ष, कहिले मध्यवर्तीको अध्यक्षको जिम्मेवारी हुँदै प्रदेशको सांसद बनाएको छ । उहाँहरुलाई सम्मान नगर्ने भन्ने कुरा हुँदैन । अब माघ ८ गते प्रदेश अधिवेशन पनि गर्दैछ । उहाँहरुलाई प्रदेशमा पनि जिम्मेवारी दिन सकिन्छ ।

जिल्लाको मूख्य कार्यकारीका जिम्मेवारीको सम्बन्धमा समय पनि दिन सक्ने र छिटो निर्णयर एक्सन पनि लिन सक्ने व्यक्ति कार्यर्ताहरूले खोज्नुभएको छ । किनकी हाम्रो पार्टीलाई पटक पटक आक्रमण भएको छ । यो परिवेशमा निर्णय क्षमता, गतिशिलता भएको र नयाँ र पुराना पुस्तालाई संयोजन गर्न सक्ने हिसाबले नेतृत्वलाई अघि बढाउन सकिएन भने हाम्रो आन्दोलन कमजोर बन्न सक्छ । त्यसैले कार्यकर्ताले मलाई अघि बढ्न अनुरोध गर्नुभएको हो ।

पार्टी बलियो बनाउन मेरो योजना

मलाई जिल्ला जिल्ला दह्रो ढंगले अघि बढाउने धोको छ । पार्टी दह्रो बनाउन मूल नेतृत्व कस्तो बन्छ भन्ने महत्वपूर्ण हो ।उमेरको कुरा त हाम्रो पार्टीको जिल्ला अध्यक्ष अहिले केन्द्रीय सदस्य भइसक्नुभएको पार्वती जीको नेतृत्वले खण्डित गरिसकेको छ । अबको मुख्य पाटो एमालेको वडा तहमा बसेर नेतृत्व गरिरहनुभएको अग्रज र पार्टीको नीति मन परेर होमिनुभएका युवा पुस्ताबीच समन्वय गर्नु हो । नेतृत्वले जुनियरलाई हेप्ने सिनियरलाई सम्मान नगर्ने हो भने पार्टी बन्दै बन्दैन ।सिनियर र जुनियरको व्यवस्थापन अहिले पार्टीको मूख्य आवश्कयकता हो । एमाले युवाहरुको आशाको केन्द्र पनि हो । हामीले केन्द्रीय अध्यक्ष आदरणीय पूर्वप्रधानमन्त्री केपी ओलीले लिनुभएको विकास र समृद्धिको ऐजेण्डालाई रफ्तारमा अघि बढाउनु छ ।

समस्यामा परेका कार्यकर्ताको व्यवस्थापन पनि मेरो मुख्य जिम्मेवारीमा लिएको छु । जहाँ समस्या छ त्यहाँ एमाले छ भन्ने सन्देश दिने गरि काम गर्ने अहिले मुख्य काम हो । म वडा, टोलसम्म पुग्न चाहन्छु । बेरोजगार, बिरामी, प्रशासनिक समस्या, सरकारी सेवाको असन्तुलनमा रहनुभएका पार्टीका कार्यकर्तालाई सहयोग गर्नेगरि पार्टीको नेतृत्व गर्न चाहन्छु । पार्टीलाई एक ढिक्का बनाउन वैचारिक अभियान चलाउने, पार्टी स्कूल चलाउने पनि मेरो ऐजेण्डा हो ।यो रुपान्तरित एमाले पनि हो । हामी कमरेड बादलसहितको माओवादीको एउटा ठूलो पंक्ति एमालेमा सहभागी छ । अर्कोतर्फ बीचमा केही अलमलमा पर्नुभएका नेता कार्यकर्ताको पंक्ति पनि हामीसँग छ । रूपान्तरिक एमालेमा हामी सबै कार्यकर्तालाई कुनै न कुनै जिम्मेवारीमा व्यवस्थापन गरेर अघि बढ्छौँ । पार्टीभित्र कोही पाखा पर्नुपर्ने, जिम्मेवारी बिहीन हुनुपर्ने अवस्थाको सिर्जना नै हुँदैन ।

प्रतिनिधिहरू नै मेरो नेतृत्व खोजिरहनुभएको छ

अहिले जिल्ला सम्मेलनको लागि आयोजक र प्रतिनिधि गरि लगभग एक हजार ५ सय ५० जना प्रतिनिधि छनौट हुनुभएको छ । सामाजिक सञ्जाल, टेलिफोन, भौतिक भेटघाट लगायतका माध्यमबाट म उहाँहरुसम्म पुगिरहेको छु । हामी पार्टी जीवनमा सँगसँगै भएकोले उहाँहरू आफैले चासो दिएर तपाईँ नै हो हाम्रो नेता भनिराख्नुभएको छ । कसैले टेलिफोन गरेर भन्नुभएको छ, कसैले सामाजिक सञ्जालमार्फत त कसैले भेटेर नै मेरो नेतृत्व खोजिरहनुभएको छ ।मेरो २६ वर्षे पूर्णकालिन राजनीतिक गतिविधी आम नेता र कार्यकर्ताहरुले नै नियालीरहनुभएको छ । मैले मेरो जीवन नै राजनीतिमा सर्मपित गरिरहेको छु । आम प्रतिनिधी एबम् कार्यकर्ता पंक्तिले नै मेरो पार्टी प्रतिको योगदानलाई देखिरहनुभएको छ । मूल्याङ्कन उहाँहरुले पक्कै गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।

तपाईको प्रतिक्रिया