चितवन । माडीको मौलिक कला, संस्कृति, भाषा र परम्परा जोगाउने उद्देश्यका साथ आगामी जेठ १५ गते “माडी मौलिक संस्कृति उत्सव–२०८३” आयोजना हुने भएको छ। माडी प्रज्ञा प्रतिष्ठानको आयोजना तथा माडी नगरपालिकाको प्रवर्द्धनमा बसन्तपुर बजारस्थित खुला चौरमा यो उत्सव हुन लागेको हो। उत्सवबारे आज भरतपुरमा पत्रकार सम्मेलन गरी विस्तृत जानकारी दिइएको छ।
माडीको सांस्कृतिक विविधतालाई राष्ट्रियस्तरमा चिनाउन र नयाँ पुस्तालाई आफ्नो पहिचानसँग जोड्न यो उत्सव कोसेढुङ्गा सावित हुने विश्वास लिइएको छ। पत्रकार सम्मेलनमा माडी प्रज्ञा प्रतिष्ठानका अध्यक्ष नारायण प्रसाद सापकोटाले माडीमा बसोबास गर्ने सबै जातजातिलाई एउटै मञ्चमा जोडेर सामाजिक सद्भाव बलियो बनाउन कार्यक्रम आयोजना गरिएको बताउनुभयो।
त्यस्तै, माडी नगरपालिकाकी नगर प्रमुख तारा कुमारी काजी महतो र उप–नगर प्रमुख खेमप्रसाद महतोले माडीको सांस्कृतिक विविधता नै यहाँको विशेषता भएको उल्लेख गर्दै उत्सव सफल पार्न सम्पूर्ण नगरबासी र सञ्चारकर्मीलाई आग्रह गर्नुभयो। प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भुसालले यो उत्सव सम्पूर्ण माडीबासीको साझा कार्यक्रम भएकाले बाहिरबाट आउने पाहुनाहरूको आतिथ्यता र बसोबासमा सहजीकरण गरिदिन स्थानीयबासीलाई अनुरोध गर्नुभयो।
विविध संस्कृति र स्वादको संगम उत्सवको सुरुवात हुनुअघि बसन्तपुर बजारमा विभिन्न जातजातिका परम्परागत झाँकीसहित र्याली निकालिनेछ। उत्सवमा थारु समुदायका ८ थरी विशेष प्रस्तुति, मगर, तामाङ, नेवार, चेपाङ, राई, दराईसहित १२ जनजातिका सांस्कृतिक झलक, दलित समुदायको पञ्चेबाजा र सारङ्गी, तथा ब्राह्मण–क्षेत्री समुदायको भजन र स्वस्तिवाचन समावेश गरिनेछ। स्थानीय कलाकार र विद्यार्थीहरूबीच लोकदोहोरी तथा नृत्य प्रतियोगिता समेत हुनेछ।
सांस्कृतिक प्रस्तुतिसँगै उत्सवमा “मौलिक खाना पर्व” समेत चल्नेछ, जहाँ विभिन्न समुदायका रैथाने परिकारका साथै माडीका प्रख्यात माछा र दुग्धजन्य स्वादको आनन्द लिन सकिने आयोजकले जनाएको छ।



उज्यालो खबर




