×

नवलपुर- गैँडाकोट नगरपालिकाले नगर क्षेत्रभित्र बनेका भवन तथा संरचनाहरूको नियमित एवं अभिलेखीकरण गर्ने कार्यमा नयाँ र कडा नीति अख्तियार गरेको छ। नगर कार्यपालिकाको हालै बसेको बैठकले २०८३ जेठ १३ गतेदेखि लागू हुने गरी भवन अभिलेखीकरणका लागि नयाँ निवेदन दर्ता प्रक्रिया पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको हो।

नगरपालिकाले ‘भवन नियमित तथा अभिलेखीकरण सम्बन्धी कार्यविधि, २०८२’ बमोजिम कार्य गर्दै आएकोमा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको गत जेठ ४ गतेको पत्रका कारण केही दिन यो कार्य रोकिएको थियो। मन्त्रालयको सोही निर्देशनलाई मध्यनजर गर्दै जेठ १२ गते बसेको नगर कार्यपालिका बैठकले बीचमा रोकिएका पुराना फाइलहरूलाई मात्रै सम्बोधन गरेर टुङ्ग्याउने गरी नयाँ कार्यतालिका पारित गरेको छ।

नयाँ निर्णयअनुसार हालसम्म घर नक्सा अभिलेखीकरण प्रयोजनका लागि संकलन वा दर्ता भइसकेका निवेदनहरूको हकमा आगामी २०८३ असार मसान्तभित्र नियमित अभिलेखीकरण गरिनेछ। यसका लागि आवश्यक पर्ने सूचनाहरू असार १० गतेसम्म मात्र काट्न वा जारी गर्न सकिने नगरपालिकाले जनाएको छ।

यस्तै, तोकिएको समयभित्र सूचना काटिएका फाइलहरूको आवश्यक राजस्व तथा दस्तुर बुझाउने म्याद असार २५ गतेसम्म तोकिएको छ।

नगरपालिकाका सिनियर डिभिजनल इन्जिनियर (सि.डि.ई.) विजयराज न्यौपानेले एक सार्वजनिक सूचना जारी गर्दै निर्धारित समयसीमा भित्र प्रक्रिया पूरा नगर्ने फाइल वा नक्साको हकमा कार्यालय जवाफदेही नहुने स्पष्ट पारेका छन्। नगरपालिकाले पुराना आवेदकहरूलाई समयमै राजस्व बुझाई आफ्नो भवनको कानुनी प्रक्रिया पूरा गर्न समेत आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया