×

गैँडाकोट । लायन्स क्लब अफ चितवन वाङ्मयले आयोजना गरेको राष्ट्रिय खुल्ला कविता प्रतियोगितामा धादिङ थाक्रे ३ का विजय तामाङ प्रथम हुनुभएको छ । हाम्रो पर्यावरण, हाम्रो सम्पदा बिषयमा भएको कविता प्रतियोगितामा काठमाडौँका कल्पना अधिकारी भट्टराई द्वितिय, देवघाटधाम, तनहुँका गोविन्द गोपाल खतिवडा तृतिय र भद्रपुर १ झापाका राजन सुवेदी सान्त्वना हुनुभएको छ ।

कार्यक्रममा देशभरका ८० भन्दा बढि कविताबाट १० उत्कृष्ट कविता छनोट गरि प्रतियोगीता गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब अफ इन्टरनेशनल ३२५ बि २ नेपालका डिष्ट्रिक गभर्नर रामप्रसाद भट्टले लायन्स क्लब अफ चितवन वाङ्मयले नेपाली भाषालाई राष्ट्रिय स्तरमा चिनाउन महत्त्वपूर्ण भुमिका खेलेको बताउनुभएको छ । संसारलाई उज्यालो दिशामा लैजान पनि यस संस्थाले काम गरेको बताउँदै उहाँले आगामी दिनमा अन्य स्थानमा पनि वाङ्मय क्लब खोल्ने प्रतिवद्धता जनाउनुभयो ।

लायन्स क्लब अफ चितवन वाङ्मयका अध्यक्ष हरीप्रिया रिजालले साहित्यको संरक्षणमा यस संस्थाले सधै काम गर्ने बताउनुभएको छ । त्यस्तै क्याबिनेट सेक्रेटरी प्रभाकर पण्डितले लायन्स क्लब अफ चितवन वाङ्मय देशभरका साहित्यिक प्रेमीहरु रहेको क्लब भएको बताउँदै साहित्य प्रेमीको क्षेत्रमा यसले सधै काम गर्नुपर्ने बताउनुभएको छ ।

गैँडाकोटमा भएको कार्यक्रमको सहजिकरण लायन्स क्लब अफ चितवनका वाङ्मयका डाइरेक्टर पुष्प अधिकारी अञ्जलीले र लायन्स क्लब अफ चितवन वाङ्मयका सचिव सुजन अधिकारीले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया