गैँडाकोट । नेपाली काँग्रेस गैँडाकोट वडा नं ५ को आयोजनामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । विपी स्मृति भवन गैँडाकोटमा आयोजित उक्त कार्यक्रम नवनिर्वाचित वडा सभापति लक्ष्मण कार्कीको सभापतित्वमा सम्पन्न भएको हो । नेपालीहरुको महान पर्व विजयादशमी, शुभ दीपावली, छठ, नेपाल संवत र ल्होसारलगायतका पर्वकाे अवसरमा आयाेजना गरिएकाे कार्यक्रमले भाइचारा र सामाजिक एकतालाई मजबूत बनाउने अपेक्षा कांग्रेसले लिएकाे छ ।

कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेसका  नेता एवम् महासमिति सदस्य मदनभक्त अधिकारी रहनुभएको थियो । उहाँले गुटरहित नेपाली काँग्रेस निर्माणमा आफ्नो भूमिका रहने भन्दै जिल्ला सभापतिमा आफ्नो उमेद्वारीलाई सघाउन अपीलसमेत गर्नुभयो ।कार्यक्रमका अतिथि रहनुभएका निवर्तमान नगर सभापति तारापति खरेलले कार्यक्रमबाटै प्रदेश सभापतिमा आफ्नो उमेद्वारी घोषणा गर्नुभयो । उहाँले नेपाली काँग्रेसको इतिहास निर्माण कार्यमा अगाडि बढ्न सबैलाई आग्रह गर्नुभयो ।

विद्यार्थी नेता राजेश पौडेलले १४औं महाधिवेशन अन्तर्गत सम्पन्न भएका निर्वाचनलाई सबैले सहर्ष स्वीकार गर्नुपर्ने तर्क राख्नुभयो । कार्यक्रममा निर्वाचित नगर सचिवद्वय गोविन्द घिमिरे र कृष्णमुरारी खनालले मन्तव्य राख्नुभएको थियो । त्यसैगरी कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहुनेहरुमा नेपाली काँग्रेस केन्द्रीय भाषा, साहित्य, कला र संस्कृति विषयगत समितिका सदस्य गोविन्द रिमाल, नेपाल किसान संघका केन्द्रीय सदस्य तुलसीराम गौतम, नेपाल महिला संघ जिल्ला कोषाध्यक्ष शान्ति न्यौपाने, बुथ सभापति शालिकराम घिमिरेले राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया