चितवन । राप्ती नगरपालिका वडा नं। ३ निवासी २३ वर्षिया सुजिता भण्डारीको शव अझै उठेको छैन । प्रहरीले सुक्ष्म अध्ययनका लागि शव नउठाएको हो ।चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले युवती हराए लगत्तैदेखि केन्द्रीय अनुसन्धान ब्यूरोले घटनाबारे अनुसन्धान गरिरहेको बताउनुभयो । उहाँले सुक्ष्म रुपमा त्रुटीरहित ढंगले सजगता अपनाउँदै प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सूर्य थापाले शव नजिकै बोतलमा सेतो पदार्थ भेटिएको र शव नउठाईएकोले विस्तृत विवरण आउन बाँकी रहेको बताउनुभयो । घटनाको अध्ययनकै लागि शव नउठाईएको उहाँको भनाई छ ।

हिजो आईतबार साँझ स्थानीय ब्रम्हस्थानी सामुदायिक वनमा भण्डारीको शव फेला परेको हो । उनी असार ११ गतेदेखि हराईरहेकी थिईन् । ११ गते विहान ६ बजे साथीको घर जाने भनेर हिडेकी सुजिता सोही दिनदेखि वेपत्ता भएकी थिइन । उनले सोही दिन १२ बजे दिदीलाई फोन गरेर अपहरणमा पारेको बताएको परिवारका सदस्यले बताउँदै आएका छन ।

 

तपाईको प्रतिक्रिया