काठमाडौं।राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाभाइरसविरूद्धको खोप ल्याउन दुबैतिरका राष्ट्राध्यक्षसँग पहल गरेकी छन्।मंगलबार भारतीय समकक्षी रामनाथ कोविन्दलाई पत्र पठाएकी राष्ट्रपति भण्डारीले बुधबार दिउँसो चिनियाँ समकक्षी सी चिनफिङसँग टेलिफोन वार्ता गरेकी छन्।
राष्ट्रपति भण्डारीका सञ्चार विज्ञ टीका ढकालका अनुसार भण्डारी र चिनफिङबीच झन्डै पौने घन्टा कुरा भएको थियो। कुराकानीका क्रममा राष्ट्रपति भण्डारी नेपाल सबै नेपालीलाई पुग्ने खोप चीनबाट किन्न इच्छुक रहेको उल्लेख गर्दै त्यसका लागि पहल गरिदिन अनुरोध गरेकी थिइन्।जवाफमा राष्ट्रपति चिनफिङले नेपालजस्तो मित्र राष्ट्रलाई सहयोग गर्न आफूले पहल गर्ने बताएका थिए।दुई देशका राष्ट्रपतिबीच कुराकानी गराउन दुबै देशका परराष्ट्र मन्त्रालयले केही दिनदेखि तयारी थालेका थिए।
चीनले नेपाललाई अहिलेसम्म कोरोनाभाइरसविरूद्धको ८ लाख डोज खोप अनुदानमा दिएको छ। अहिले उक्त खोपको दोस्रो डोज लगाउने क्रम चलिरहेको छ।राष्ट्राध्यक्षको तहमा कुराकानी हुँदा सरकार र कूटनीतिक नियोगलाई पनि काम गर्न सजिलो हुने भएकाले राष्ट्रपति भण्डारीले दुबै देशका समकक्षीलाई खोपका लागि अनुरोध गरेको सञ्चार विज्ञ ढकालले बताए।
मंगलबार भारतीय समकक्षीलाई पठाएको पत्रमा राष्ट्रपति भण्डारीले भारतले यसअघि अनुदानमा दिएको खोपका लागि भारत र भारतीय जनतालाई धन्यवाद दिएकी थिइन्।
कोरोना दोस्रो लहरले नेपाललाई पनि आक्रान्त बनाएको छ। यसलाई रोक्ने प्रभावकारी उपाय खोप नै भएकाले खोप उपलब्ध गराउने पहलका लागि कूटनीतिक माध्यमबाट पत्राचार गरी राष्ट्रपतिले आग्रह गर्नुभएको हो, ढकालले भने।नेपाल सरकारले खोप किन्नका लागि मार्चमा रकम तिरिसकेको छ। राष्ट्रपतिले भने त्यही खोप र थप खोप पठाउने पहल गरिदिन आग्रह गरेकी हुन्।भारतले यसअघि १० लाख खोप अनुदान दिएको थियो। त्यसपछि नेपालले २० लाख खोप किन्नका लागि भारतलाई रकम उपलब्ध गराएको थियो। त्योमध्ये १० लाख खोप आएको छ भने बाँकी १० लाख आएको छैन।