
नवलपुर– गण्डकी प्रदेशमा यस वर्ष एक हजार १२७ जना क्षयरोगका बिरामी फेला परेका छन्। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको चैत पहिलो सातासम्म सात हजार ७८४ शंकास्पद बिरामीमध्ये एक हजार १२७ जनामा क्षयरोग पुष्टि भएको हो।गत वर्षको तुलनामा यस वर्ष क्षयरोगीको संख्या घटे पनि आगामी चार महिनामा अझै थपिने अनुमान गरिएको छ। अघिल्लो आर्थिक वर्षमा कूल एक हजार ९४८ क्षयरोगका बिरामी पहिचान भएका थिए।
गण्डकीमा फेला परेका क्षयरोगीमध्ये सबैभन्दा धेरै कास्कीका तीन सय ४७ जना रहेका छन्। त्यसैगरी, नवलपरासीमा २५४, स्याङ्जामा १०१, गोरखामा १११, तनहुँमा १३२, लमजुङमा ४९, बागलुङमा ७७, म्याग्दीमा २४ र पर्वतमा ३१ जना क्षयरोगी पहिचान भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका क्षयकुष्ठ निरीक्षक लक्ष्मण बसौलाले जानकारी दिए।बसौलाका अनुसार हिमालपारीको जिल्ला मनाङमा यस वर्ष एक जना क्षयरोगी फेला परेको छ। मुस्ताङमा भने क्षयरोगका बिरामी शून्य रहेका छन्।
गण्डकीमा यस वर्ष क्षयरोग निको हुने दर ९० प्रतिशत रहेको छ। क्षयरोगबाट मृत्यु हुनेको संख्या हालसम्म ४६ पुगेको छ। अघिल्लो वर्ष कोरोना प्रकोपका कारण केही पत्ता लाग्ने र उपचार सफल हुने दर घटे पनि यस वर्ष बढ्ने विश्वास लिइएको छ।प्रदेश स्वास्थ्य निर्देशनालयले क्षयरोगका बिरामीको उपचार र निगरानीका लागि सहजीकरण गरिरहेको छ। यसका लागि निर्देशनालयले प्रदेशभरिका ११ जिल्लामा पर्ने ८५ वटै स्थानीय तहका स्वास्थ्यकर्मीलाई लक्षित गरी इटिबी मास्टर रजिस्टर र डिएचआइएस टूसम्बन्धी तालिम सञ्चालन गरेको छ। स्वास्थ्यकर्मीलाई तालिम दिएसँगै हरेक स्थानीय तहका स्वास्थ्य संस्थामा मोबाइल प्रविधिमार्फत् क्षयरोगका बिरामीलाई निगरानी राख्न सकिने प्रणालीमा व्यवस्था गरिएको छ। प्रविधिको प्रयोग गरी क्षयरोगका बिरामीको सत्यतथ्य तथ्याङ्क राख्ने र सहज तरिकाले सेवा दिने उद्देश्यले सरकारले यो प्रणालीको थालनी गरेको प्रदेश स्वास्थ्य निर्देशनालयका तथ्याङ्क अधिकृत दिवाकर शर्माले जानकारी दिए। हालसम्म मुस्ताङ र म्याग्दीबाहेक सबै जिल्लामा यो प्रणालीको तालिम सञ्चालन भइसकेको शर्माले बताए।
बागलुङका १० वटै स्थानीय तहका स्वास्थ्यकर्मीलाई इटिबी रजिस्टरसम्बन्धी तालिम सञ्चालन गरिएको छ। क्षयरोगसम्बन्धी थप जनचेतना फैलाउने र बिरामी पत्ता लगाउने दर बढाउन पनि यो तालिमले सार्थकता पाउने स्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ट निरीक्षक देवप्रकाश घिमिरे बताउँछन्। घिमिरेका अनुसार जिल्लामा क्षयरोग पत्ता लाग्ने दर विगतका वर्षमाभन्दा बढ्दो क्रममा रहेको छ। हरेक स्थानीय तहमा क्षयरोगको परीक्षणका लागि प्रयोगशाला स्थापना गरेसँगै जिल्लामा क्षयरोगीका बिरामी पहिचान गर्ने दर बढ्दै गएको हो। गत आर्थिक वर्षमा १४५ जना क्षयरोगी रहेको जिल्लामा यस वर्ष ७७ जना पहिचान भइसकेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ।
पछिल्लो समय स्वास्थ्यकर्मीले समाजमा क्षयरोगसम्बन्धी सचेतनामुलक कार्यक्रम सञ्चालन गरेसँगै रोगी पत्ता लाग्नेदर बढ्न थालेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए। ‘हाम्रो समाज अझै पनि पुरानै प्रवृत्तिमा छ। पछिल्लो समयमा केही सुधार हुँदै गएको छ,’ गुरौले भने, ‘क्षयरोग लागेपछि समाजमा खुल्न डराउने कारण भित्रभित्रै फैलिने डर पनि बढ्दै गएको हो। अहिले केही सहज तरिकाले खुल्नुभएको छ। यसले निवारणका निम्ति केही सहयोग पुग्नेछ।’उनले जिल्लामा क्षयरोगको निदानका लागि स्थानीय तहसँग मिलेर विभिन्न कार्यक्रम र शिविर सञ्चालन गर्दै आएको जानकारी दिए। स्वास्थ्य खबरबाट