×

गैँडाकोट । शिक्षा युवा तथा खेलकूद शाखा गैँडाकोटको आयोजना तथा नगरस्तरीय नेपाली विषयगत समितिको संयोजनमा दुई दिवशीय अन्तरक्रिया तथा प्रश्न निर्माण कार्यशाला जनक माविको सभाहलमा सुरु  गरिएको छ । शिक्षण सिकाइका क्रममा देखा परेका समस्या र समाधानका उपायहरु पत्ता लगाउने अभिप्रायले यस किसिमको कार्यक्रममा जोड दिएको कार्यक्रमका प्रमुख अतिथि गैँडाकोट शिक्षा शाखाका प्रमुख बालकृष्ण चापागाईले बताउनु भयाे । नगरपालिकाभित्र शिक्षण सिकाइ र मूल्याङ्कनमा एकरुपताको लागि यो कार्यक्रम कोशेढुङ्गा साबित हुने भन्दै उहाँले शिक्षकलाई जुझारु हुन आग्रह गर्नुभयो ।
नेपाली विषयगत समितिका संयोजक एवम् कार्यक्रमका अध्यक्ष चूडामणि शर्मा कँण्डेलले भाषा विषय शिक्षणमा तल्लीन शिक्षकहरुलाई यस कार्यक्रमले पुर्नताजगी दिएको धारणा अभिव्यक्त गर्नुभयो । कार्यक्रमका दौरानमा उहाँले भाषिक सिपको प्रयोग, मूल्याङ्कनमा देखिएका समस्या र व्याकरणका दृष्टि दोषहरु न्युनीकरणमा ध्यान दिन सकिने विषयलाई प्रस्तुत गर्नुभएको थियो ।
समितिका सदस्य लीला ढुङ्गानाको स्वागत मन्तव्य रहेको सो कार्यक्रमको सहजीकरण नेपाली विषय समितिका सदस्य गोविन्द रिमालले गर्नुभएको थियो । कार्यक्रममा सहभागीको तर्फबाट शिक्षक बिमला बस्ताकोटी र राजेन्द्रप्रसाद रेग्मीले वर्तमान समयमा नेपाली विषय शिक्षणमा देखा परेका समस्या र समाधानका उपायहरु बारेमा समूहगत धारणा राख्नुभएको थियो । सो कार्यक्रममा गैँडाकोटमा रहेका सामुदायिक तथा निजी विद्यालयहरुका ६० जना शिक्षकहरुको कार्यक्रममा सहभागिता रहेको थियो । कार्यक्रमले ६ गते गैँडाकोट स्तरीय साझा घोषणा जारी गर्ने जानकारी सदस्य कमलप्रसाद वाग्लेले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया