काठमाण्डौ । कोरोनाविरुद्धको खोप केही ठाउँमा अभाव भए पनि आत्तिहाल्नु नपर्ने विज्ञले बताएका छन् ।जोखिममा रहेका वर्गलाई कोरोनाविरुद्धको खोप दिइरहेकाले आत्तिहाल्नु पर्ने अवस्था नरहेको विज्ञले बताएका छन् ।
सरकारले अहिले ६५ वर्षभन्दा माथिका उमेर समूहलाई कोरोनाविरुद्धको खोप वितरण गरिरहेको छ । यस्तै, हिमाली जिल्लामा ५५ वर्षभन्दा माथिकालाई खोप दिइएको छ ।जोखिममा परेका यी वर्गलाई खोप दिइन थालेकाले खोप अभाव भए पनि आत्तिनु नपर्ने खोपसम्बन्धी विज्ञ समूहका संयोजक डाक्टर श्यामराज उप्रेतीले बताउनुभयो ।
उहाँकाअनुसार केन्द्रबाट विभिन्न पालिकामा १९ लाख डोज खोप पठाएकाले अहिलेको लक्षित समूहलाई खोपले धान्ने अवस्था छ । कहीँकतै लक्षित समूहबाहेकलाई खोप दिएको वा अनुमान गरेभन्दा धेरै खोप लगाउन पुगेकाले समस्या देखिएको हुन सक्ने उहाँको भनाइ छ ।
सरकारले गएको २३ गतेदेखि ६५ वर्षमाथिका नागरिकलाई खोप दिन अभियान चलाइरहेको छ । तर, खरिद गरेको खोप र कोभ्याक्समार्फत आउने खोपको टुङ्गो नलाग्दा खोप अभियान प्रभावित हुने देखिएको छ ।
यसैबीच, सरकारले यही महिनाभित्र भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाबाट खरिद गरेको खोप नेपाल आउने जनाएको छ । कम्पनीले यही महिनाभित्र बाँकी रहेको १० लाख डोज खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएको खोपसम्बन्धी विज्ञ समूहका संयोजक डाक्टर श्यामराज उप्रेतीले जानकारी दिनुभयो ।यस्तै, कोभ्याक्समार्फत आउने खोपको थप १९ लाख डोज मे महिनामा आउने सम्भावना रहेको पनि उहाँले जानकारी दिनुभयो ।
खोप आउनासाथ पालिकाहरुसँग समन्वय गरेर वितरण गरिने हुँदा केही ढिलो गरी खोप आए पनि कुनै समस्या नहुने उहाँको दाबी छ । नेपालले भारतसँग २० लाख डोज खोप खरिद गरे पनि १० लाख मात्रै नेपाल भित्रिएको छ । यस्तै, यसअघि भारतले अनुदानमा १० लाख डोज खोप दिएको थियो भने कोभ्याक्समार्फत अनुदानमा तीन लाख ४६ हजार खोप नेपाल भित्रिएको थियो ।