सौराहा । मदन भण्डारी फाउण्डेशनले सुशासन र समृद्धिका विषयमा बहस चलाएको छ । फाउण्डेशनले आज सौराहामा “ सुशासन र समृद्धिका लागि सञ्चार” बिषयक अन्तरक्रिया कार्यक्रम आायोजना गरेको हो ।
कार्यक्रममा फाउन्डेसनका केन्द्रीय सदस्य एवम् बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मदन भण्डारीका सिद्धान्त अनुसार राजनीति अगाडि बढेको बताउनुभयो । मदन भण्डारी फाउण्डेशन पार्टीकोभन्दा पनि स्वायत्त संस्था भएको बताउनुभयो । जननेता भण्डारीको नेपालको राजनीति क्षेत्रमा महत्त्वपूर्ण मार्गनिर्देशन रहेको उहाँको भनाई थियो ।
फाउन्डेसनलाई सफल नेतृत्व प्रदान गरी जनता माझ लैजानुपर्ने आवश्यकता रहेको बताउँदै उहाँले जनताको बहुदलीय जनवादका १४ वटा सिद्धान्तलाई सबैले पछ्याउँदै जानुपर्ने आवश्यकतामा जोड दिनुभयो । फाउण्डेशनको जगमा उभिएर धेरै कहाँ कहाँ पुगेको भन्दै उहाँले उनीहरु अहिले स्वार्थमा लागेको बताउनुभयो । उहाँले विभिन्न विकासका कामहरू फाउण्डेसनमार्फत गर्न सकिने पनि उहाँले बताउनुभयो । सूचना र प्रविधिको युग भएका कारण पनि सुशासन र समृद्धिमा सञ्चारको योगदान हुने उहाँको भनाई थियो ।
फाउण्डेशनका केन्द्रीय सचिव पेम्बा लामाको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका नेकपा केन्द्रीय सदस्य, प्रदेश सदस्य, जिल्ला अध्यक्ष, सचिव एबम फाउण्डेशका केन्द्र, प्रदेश र जिल्लाका पदाधिकारी एबम सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रममा रामशरण प्याकुरेल र फाउन्डेसनका बागमती प्रदेश अध्यक्ष दीपक निरौलाले सहजीकरण गर्नुभएको थियो
।
यसैबीच फाउण्डेशनको आयोजनामा भोलि फागुन ११ गतेदेखि ५ दिने पत्रकारिता तालिम चितवनको पर्सामा सुरु हुने भएको छ । तालिममा चितवन र मकवानपुरका गरी ३५ जना सहभागी हुने फाउन्डेसनका प्रदेश अध्यक्ष निरौलाले जानकारी दिनुभयो । यसअघि प्रदेशका अन्य ११ वटा जिल्लामा पत्रकारिता तालिम सम्पन्न भैसकेको छ ।