नवलपुर ।कावासोती नगरपालिका वडा नं. ४ हसौरामा जारीे दोस्रो नवज्योति जिल्ला स्तरीय फुटवल प्रतियोगिताको चौथो दिन सोमवारको खेलमा नमुना युवा क्लव कालिकाले जित निकालेको छ ।
बेलुवा एफसीसँग भएको खेलमा नमुनाले ४–२ गोल अन्तरले जित निकालेको हो ।अत्यन्त प्रतिस्पर्धात्मक खेलमा नमुनाका तर्फबाट जर्सी नं. ८ का खेलाडी रुमबहादुर गाहाले खेलमा थपिएको ३ मिनेटको ईन्युरी टाईममा गरेको २ गोल निर्णायक गोल बन्यो ।
प्रतिस्पर्धामा पहिलो गोल बेलुवाका तर्फबाट जर्सी नं. ९ का किरण रानामगरले १३ औं मिनेटमा गरेका थिए । त्यसपछि ३७ औं मिनेटमा नमूनाका जर्सी नं. ५ का सञ्जित गुरुङले ३७ औं मिनेटमा बेलुवाको गोलको उत्तर दिएका थिए ।
मध्यान्तर अगाडी बराबरीमा सकिएको प्रतिस्पर्धामा फेरी बेलुवाका जर्सी नं. ११ का हिमाल मगरले ६९ औं मिनेटमा एक गोल गरी २–१ को अग्रता दिलाएका थिए । पुनः नमुनाका १४ नं. जर्सीका खेलाडी आशिष महतोले ७३ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा पुर्याए ।
अन्ततः थपिएको ३ मिनेटमा नमुनाका रुमबहादुर गाहाले लगातार २ गोल गर्दै ४–२ गोल अन्तरले बेलुवा पराजित भएको हो ।
आजको खेलमा नमुनाका तर्फवाट मिडफिल्डरबाट खेल्दै उत्कृष्ट खेल प्रदर्शन गरेका जर्सी नं. ५ का सञ्जित गुरुङ म्यान अफ द म्याच बनेका छन् । गुरुङलाई वडा नं. ४ का वडाध्यक्ष रमाकान्त चापागाईले म्यान अफ द म्याचको ट्रफी प्रदान गरे ।
भोली मंगलवारको खेल चोरमारा युथ क्लव र अठ्ठाईस बिगाहा एफसीबीच हुने क्लवका अध्यक्ष शुशिल पौडेलले जानकारी दिए ।
प्रतियोगिता माघ १६ गतेसम्म चल्ने छ । १६ समूहले भाग लिएको प्रतियोगिताको पहिलो चरणको खेलमा अहिलेसम्म ५ खेल सम्पन्न भएको छ ।
नकआउट पद्धतिमा भएको खेलमा आयोजक नवज्योती रातो, कावासोतीको भानुभक्त युवा क्लव, आयोजक नवज्योती पहेंलो, दलदलेको प्रगति कला मन्दिर युवा क्लव र नमुना युवा क्लव कालिका अघिल्लो राउण्डमा प्रवेश गरेका छन् ।
पहिलो चरणमा जित निकाल्न सफल भएका समुहमध्ये आयोजक रातो र नमुनाबीचको खेल ९ गते, आयोजक पहेंलो र दलदलेको प्रगतिबीच १० गते प्रतिस्पर्धा हुने आयोजकले निकालेको टाईसिटमा उल्लेख छ ।
कावासोतीको भानुले ७ गतेको विजयी टीमसँग खेल्नुपर्नेछ ।प्रतियोगिताको अफिसियल मिडिया पार्टनर सामर्थ्य एफ एम रहेको छ । कार्यक्रमलाई वडा नं. ४ वडा कार्यालयले सहयोग गरेको छ ।