×

कावासोती । नवलपुरमा यस वर्ष ५ प्रजातीका नयाँ चरा देखापरेको छ । चितवन राष्ट्रिय निकुञ्ज तथा जिल्लाको मध्यवर्ती क्षेत्र अन्तर्गत नारायणी नदी आसपास क्षेत्रमा गरिएको चरा गणनामा यस वर्ष लालठुडेँ हाँस, पानी चाह, चित्राङग, कैलो टाउके हाँस र माल चरी गरी पाँच प्रजातिका नयाँ चरा देखापरेको हो ।

हालै सम्पन्न चरा गणनाको तथ्याङ्क अनुसार यस वर्ष जिल्लामा ४६ प्रजातीका चरा देखापरेको पश्चिम सेक्टर चितवन राष्ट्रिय निकुञ्जका पंक्षी गणना संयोजक डिबि चौधरीले जानकारी दिनुभयो ।

यस्तै यसवर्ष जलेवा चराको सख्यामा वृद्धि भएको चौधरीले बताउनुभयो । यो वर्ष जलेवा चरा २ हजार ८ सय १७ भेटिएका छन जुन गतवर्षको भन्दा २ हजार ६ सय ८९ संख्याले बढी हो । त्यस्तै यस वर्ष संख्या वृद्धि हुने चरामा पानी गौँथली र नेपाली हरिहाँस छन् । पानी गौँथली गतवर्षको तुलनामा यस वर्ष एक हजार ६ सय १४ ले र नेपाली हरिहाँस ८७ संख्यामा वृद्धि भएको चौधरीले बताउनुभयो । त्यस्तै यसवर्ष चखेवाको संख्यामा कमी भएको छ । यसवर्ष पाँच हजार ५ सय ७६ भेटिएको चखेवा गतवर्ष ६ हजार ३ सय १२ देखापरेको थियो ।

चरा गणनाको लागि जिल्लाको गैडाकोट सिख्रौलीदेखि त्रिवेणीसम्म चरा रहेका क्षेत्रलाई ३ भागमा बाँडेर गणना गरिदैछ । चरा गणकहरुको समूहले जलपंक्षीहरुलाई टेलिस्कोप र वाइनाकुलर सहायताले गणना गर्ने गर्दछन् । चितवन राष्ट्रिय निकुञ्ज, जटायु रेष्टुरेण्ट व्यवस्थापन समिति, सिबिएपियु, अप्याक्क लामिचौर मध्यवर्ती उपभोक्ता समितिलगायत संरक्षणकर्मी र सरोकारवालाको उपस्थितिमा चरा गणना गरिएको हो ।

जलपंक्षीको संख्या,वासस्थानको अवस्था, वासस्थानमा समस्या छरछैन, चराको गतिविधि बुझ्न र संरक्षणको लागि के गर्न सकिन्छ भन्ने विषयमा निष्कर्ष निकाल्नका लागि नेपालमा प्रत्येक वर्ष गणना हुँदै आएको छ ।गोरखापत्र अनलाइन

तपाईको प्रतिक्रिया