×

तनहुँ। नेपाल रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखाको वार्षिक साधारण सभा  सम्पन्न भएको छ । उपशाखाका सभापति रामदत्त पौडेलको सभापतित्वमा सम्पन्न सभाको प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले रहनु भएको थियो । रेडकस केन्द्रीय सदस्य प्रदिप घिमिरे, जिल्ला अध्यक्ष कृष्णहरि वाग्ले, वडा नम्बर १० का वडा अध्यक्ष तुलसीराम सापकोटा, जिल्ला सदस्य सूर्यचन्द्र हड्खले, दुग्ध उत्पादक सहकारी संघ तनहुँका जिल्ला अध्यक्ष यज्ञप्रसाद शर्मा, विभिन्न संघसंस्था, आमा समूह, टोल विकास संस्था, सामुदायिक वन, विद्यालयका प्रतिनिधिहरु एवं रेडक्रसका आजिवन सदस्यहरु, कोभिड १९ मा सहयोग गर्ने सहयोगी ब्यक्तित्वहरु र रेडक्रस प्रेमी महानुभावहरु साथै एम्बुलेन्स खरिद अभियानमा सहयोग गर्ने सहयोगी व्यक्तित्वहरूको उपस्थिति रहेको थियाे ।

उक्त सभामा रेडक्रसको वार्षिक प्रतिवेदन, भावी कायर्क्रम, आर्थिक प्रतिवेदन र एम्बुलेन्स सेवाका लागि हालसम्म उठेको करिब २० लाख रकम संकलन भएको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।सभालाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख वाग्लेले रेडक्रसको सिद्धान्त बमोजिम दुःखमा सहयोग गर्ने र आपत परेको बेला रेडक्रस सम्झिने भएकाले सिद्धान्त बमोजिमको कार्यमा दुम्सीकोट उपशाखा अगाडि बढिरहेकाले वर्तमान अवस्थामा चालिएको सामुदायिक एम्बुलेन्स सेवा पनि छिट्टै सञ्चालनमा आओस भन्ने सफलताको कामना गर्नुभएको थियो ।साथै आफ्नो तहबाट यस अभियानमा पूर्ण रुपमा सहयोग गर्ने प्रतिवद्धता ब्याक्त ब्यक्त गर्नुभएको थियो । केन्द्रीय सदस्य घिमिरेले केन्द्रीय समितिमा सहयोगको लबिङ गरिएकोले केही सहयोग एम्बुलेन्स खरिदका लागि आउने र त्यसको लागि आफूले पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।

वडा नम्बर १० का वडा अध्यक्ष सापकोटाले यस क्षेत्रमा चालिएका हरेक कदमहरु सफलतापूर्वक सम्पन्न हुने गरेकाले यस संस्थाले सञ्चालन गरेको सामुदायिक एम्बुलेन्स अभियान पूर्ण रुपमा सफल हुने कुराको विश्वास दिलाउँदै सहयोगमा जुट्न सम्पूर्ण वडावासी एवं स्वदेश विदेशमा रहने ब्यक्तित्वहरुलाई आग्रह गर्नुभएको थियो । सभामा आफ्नो मन्तब्य राख्दै नेपाल रेडक्रस सोसाईटी जिल्ला अध्यक्ष कृष्णहरी वाग्लेले तनहुँमा रेडक्रसको सिद्धान्त बमोजिम नमुनाको रुपमा काम गर्ने दुईवटा उपशाखा मध्ये दुम्सीकोट उपशाखा र कोटदरबार उपशाखा अग्रपंतिमा रहेकोले उक्त उपशाखाको असल कार्यको प्रशंसा गर्नुभएको थियो ।

दुम्सीकोट उपशाखाले सञ्चालन गरेको सामूदायिक एम्बुलेन्स अभियानमा हालसम्म करिब २० लाख रकमको प्रतिवद्धता रहेको र एम्बुलेन्स खरिद प्रक्रिया केन्द्रमा सिफारिस भइसकेकाले आगामी तीन महिनाभित्रमा एम्बुलेन्स सञ्चालनमा आउने अर्थसंकलन समितिका संयोजक इश्वर पौडेलले जानकारी गराउनु भयो । साथै आगामी साता रक्तदान कार्यक्रम पनि राखिएकाले उक्त महान कार्यमा समेत सहभागी भई सहयोग गर्नुहुन दुम्सीकोट उपशाखाका सचिव एवं कार्यक्रम सञ्चालक यामप्रसाद सापकोटाले जानकारी गराउनुभएको छ ।

 

तपाईको प्रतिक्रिया