×

तनहुँ  ।

तनहुँको देवघाट गाउँपालिकाको ७औँ गाउँसभा आज देवघाट गाउँपालिकाको सभा हलमा सम्पन्न भएको छ । चालु आर्थिक बर्ष २०७७÷७८ को दोस्रो त्रैमासिकको अवसरमा आयोजित गाउँपालिकाको ७औँ गाउँसभाले बजेट तथा कार्यक्रम संशोधन गरेको छ । चालु आवमा खर्च हुन नसक्ने बजेटलाई संशोधित कार्यक्रममा सार्न प्रस्ताव गरिएको छ ।
गाउँसभामा गाउँपालिकाकी उपाध्यक्ष विमला थापाले चालु आवको दोस्रो त्रैमासिक (साउन देखि पुषसम्म)को प्रगति प्रतिवेदन प्रस्तुत गरिन् । चालु आवमा २७ वटा स्विकृत कार्यक्रमको ९१ लाख रुपैयाँ बजेट खर्च हुन नसक्ने अवस्था रहेको उनले बताइन् । गाउँपालिकाको खर्च हुन नसकेको बजेट र प्रदेश तथा केन्द्र सरकारबाट प्राप्त राजस्व बाँडफाँडको बजेट शंसोधित कार्यक्रममा खर्च गर्नेगरी गाउँपालिकाको वडा नं ५ का वडाध्यक्ष एवम् प्रवक्ता याल बहादुर गुरुङले प्रस्ताव गरे ।
२५ वटा योजनामा खर्च गर्नेगरी गरिएको प्रस्ताव गाउँसभाले अनुमोदन गरेको छ । अनुमोदित योजनालाई बजेटको सिमा अनुसार कार्यान्वयन गर्दै लैजाने गाउँपालिकाका अध्यक्ष दुर्ग बहादुर थापाले बताए । गाउँपालिकालाई सरसफाईको नमुना बनाउन ल्याण्डफिल साइट बनाउन लागिएको हो । आज (आइतबार) गाउँपालिकाको सातौँ गाउँसभामा २४ बुँदे प्रस्ताव तथा कार्यसूचीमाथि छलफल भएको अध्यक्ष थापाले बताउनुभयो । उहाँका अनुसार देवघाट आधारभूत अस्पताल निर्माणका लागि १६ करोड ५० लाख बराबरको डिपिआर तयार भैसकेको बताउनुभयो । उहाँले गाउँसभामा स्थानिय उत्पादनमा लगाइने करको दायरा, गाउँपालिकाको खर्च र प्रगति, कानुन तर्जुमा तथा संशोधन र विभिन्न निर्णयहरु अनुमोदन भएको उनले बताए ।साथै देवघाट गाउँपालिकाले ल्याण्डफिल साइट निर्माण गर्ने भएको छ । वडा नम्बर ५ स्थित चक्रवर्ती सामुदायिक वनमा १० लाख खर्चेर ल्याण्डफिल साइट बनाउने तयारी छ । खोल्साको भागमा ग्याविन सहितको तटबन्धन गरेर फोहर व्यवस्थापन गर्ने गरी योजना थप भएको पूर्वाधार विकास शाखाका इञ्जिनियर तीर्थराज ढुंगानाले जानकारी दिनुभयो ।
देवघाटमा दैनिक एक ट्याक्टर फोहर संकलन हुने गर्छ । गाउँसभामा देवघाट–५ मा आरएमसी प्लाण्ट निर्माण गर्ने, नगरप्रहरीलाई रासन भत्ता ५ सय थप गरि ४ हजार रुपैयाँ पु¥याउने, गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा आर्थिक सहयोग गर्ने लगायतका विषयमा छलफल भएको छ । उपाध्यक्ष विमला थापाले यो वर्ष १ सय ४७ स्वीकृत योजनामध्ये १ सय १० वटा योजना योजना सम्झौता भई कार्यान्वयनको चरणमा रहेको बताउनुभयो ।

२४ नदी तथा घाटको आइई प्रतिवेदन स्वीकृत भई चुरे क्षेत्रमा नपर्ने १३ वटा घाटको ठेक्का लगाउन थालिएको छ । यस्तै ११ वटा घाटको जिल्ला अनुगमन समितिबाट सिफारिस राष्ट्रपति चुरे संरक्षण विकास समितिमा सहमतिका लागि पठाइएको थियो । गाउँपालिकाका प्रवक्ता यालबहादुर गुरुङले हालको ५ नम्वर वडा भवनमा अस्पताल बनाइने भएकाले मर्ज हुन लागेको चक्रवती आधारभूत विद्यालय भवनमा सार्ने तयारी भएको बताउनुभयो । गाउँपालिकाले यो वर्ष करिब ३ सय किमि दुरी सडक मर्मत गरिएको जनाएको छ ।

यसैबीच देवघाट गाउँपालिका तनहुँका १० स्थानीय तहमध्ये कोरोना रोकथाम तथा नियन्त्रणमा उत्कृष्ट ठहरिएको छ । स्वास्थ्य शाखा प्मुख प्रदिप बुढाथोकीका अनुसार मंसीर तेस्रो साता गण्डकी प्रदेशले तनहुँका स्थानीय तहमध्ये देवघाटलाई उत्कृष्ट घोषणा गरेको थियो । देवघाटमा हालसम्म ४ सय ८२ जनाको पिसिआर गरेकोमा ४० जनामा कोरोना संक्रमण देखिएको थियो । जसमध्ये ३ जनामात्रै अस्पतालमा भर्ना भएका थिए । हाल गाउँपालिकामा २ जना सक्रिय संक्रमित होमआइसोलेसनमा छन् । गाउँपालिकाले यो वर्षमात्रै कोरोना रोकथाम तथा नियन्त्रणमा १९ लाख ४० हजार खर्चेको छ । गाउँपालिकाले कोभिड अस्थायी अस्पताल समेत सञ्चालनमा ल्याएको छ ।

तपाईको प्रतिक्रिया