×

 

गैँडाकोट । बालमैत्री स्थानीय शासन वडा समिति,बालसंरक्षण समिति र वडा स्तरीय बाल क्लव सञ्जाल गैंडाकोट वडा नं १ को संयुक्त आयोजना एवं १ नं वडा कार्यालयको सहयोगमा बाल क्लवहरुका लागि शैक्षिक तथा खेलकुद सामाग्री बितरण कार्यक्रम शनिवार सम्पन्न भएको छ ।
प्रमुख अतिथी गैंडाकोट नगरपालिका उप प्रमुख बिष्णुकुमारी कंडेल सापकोटाले कार्यक्रममा शुभकामना मन्तव्य राख्दै बालमैत्री वडा घोषणा गरी वालबालिकाको अधिकार संरक्षणमा गैंडाकोट वडा न.१ ले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । बालमैत्री स्थानीय तह घोषणा सम्बन्धि सूचकहरुमा आधारित रहेर विजय एफ एम सँगको सहकार्यमा वडा नं १ ले उत्पादन गरेको बाल आवाज कार्यक्रमले बालबालिकाको अधिकारका बारेमा हामीलाई सचेत बनाउन प्रेरणा प्रदान गरेको कुरा उपप्रमुख सापकोटाले व्यक्त गर्नुभयो ।वडा नं १ को बालमैत्री अभियानबाट शिक्षा ग्रहण गरि अन्य वडाले पनि बालमैत्री व्यवहारलाई अबलम्वन गरेर बालमैत्री स्थानीय शासनको शुरुवात गर्नुपर्ने कुरामा जोड दिनुभयो ।


बालमैत्री वडा घोषणा अभियान कार्यक्रम देखि अभियानलाई निरन्तरता दिन सबैको घरघरमा सूचनाको संवाहकको भूमिकामा अतुलनिय योगदान पु¥याउनुहुने वडा कार्यालय सहयोगी जमुना सापकोटालाई नगद पुरस्कार सहित दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।
कार्यक्रममा गैंडाकोट वडा नं १ का टोल स्तरीय दश वटा बाल क्लव र विद्यालय स्तरीय आठ वटा गरि अठार वटा बाल क्लबहरुलाई खेलकुद सामाग्री बितरण गरिएको थियो । प्रत्येक बाल क्लबलाई तीन वटा व्याडमिन्टन सेट, एक वटा भलिबल ,एक वटा भलिबल नेट लगायलका खेलकुद सामाग्री प्रदान गरिएको थियो । साथै एउटा बालविकास केन्द्रलाई बालमैत्री शैक्षिक सामाग्री र नेपाल राष्ट्रिय शंसेर आदर्श माध्यमिक विद्यालय र नवदुर्गा आधारभूत विद्यालयलाई ज्वरो नाप्ने यन्त्र थर्मोगन समेत प्रधान गरिएको थियो ।


गैंडाकोट वडा न. १ का वडा अध्यक्ष एवं बालमैत्री स्थानिय शासन वडा समिति अध्यक्ष हरिप्रसाद सापकोटाले हरेक कार्यक्रम र योजना बालबालिकाकै सहभागितामा छनोट गर्ने र वहाँहरुकै निर्णयमा कार्यक्रम सञ्चालन गर्ने पद्धतिको विकास गरेको कुरा बताउनुभयो । वडाको बजेट निर्माण गर्ने क्रममा पहिला बालबालिकालाई छुट्टाएर मात्र अन्य क्षेत्रमा बजेट बिनियोजन गर्ने गरेको कुरा वडा अध्यक्ष सापकोटाले बताउनुभयो । बालबालिका गरिएको लगानीले भविष्यमा राम्रो प्रतिफल दिने कुरालाई मनन गर्न वडा अध्यक्षले सबैलाई आग्रह गर्नुभयो । वडा अध्यक्ष हरिप्रसाद सापकोटाको अध्क्षयतामा सम्पन्न भएको कार्यक्रमको सहजीकरण बाल संरक्षण समिति सदस्य जगन्नाथ उपाध्यायले गर्नुभएको थियो ।
कार्यक्रममा वडा स्तरीय बाल क्लब सञ्जाल अध्यक्ष कृष्ण प्रसाद पौडेलले स्वागत गर्नु भएको थियो । कार्यक्रममा सरस्वती निकेतन बाल शिक्षा सदनका प्रधानाध्यापक लक्ष्मण कंडेल, नवकोपिला बाल क्लवका संरक्षक कृष्णराज भट्टराई ,नेपाल राष्ट्रिय शमसेर माध्यमिक विद्यालयका प्रधानाध्यापक इन्द्रराज भट्टराई,शुभ टोल महिला समूहकी अध्यक्ष निशा पाटा,आदर्श टोल विकास संस्थाका अध्यक्ष लालमणि पौडेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया