गैँडाकोट । गैंडाकोट जेसीजको १५औं साधारणसभा तथा १४औं अधिवेशनले वर्ष २०२१ का लागि दया सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
नयाँ कार्यसमितिको कार्यकारीणी उपाध्यक्षमा दीपक सापकोटा तथा मदन सापकोटा, महासचिवमा राजेश पौडेल, कोषाध्यक्षमा हरि पौडेल, उपाध्यक्षमा श्याम बन, क्षितिज आचार्य, सुदर्शन भुसाल र बिपिन सापकोटा चयन भएको निर्वाचन आयुक्त भानुभक्त रिमालले जानकारी दिए ।
कार्यसमितिको सह सचिवमा गौरी पौडेल तथा सह कोषाध्यक्षमा पवन कार्की चयन भएको निर्वाचन आयुक्त रिमालले बताए ।
कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा गैंडाकोट जेसीजका संस्थापक अध्यक्ष बद्री सापकोटाले जेसीजले सामाजिक र परोपकारी अभियान सहित आमनागरिक समक्ष पुग्ने गरि काम आग्रह गरे । कार्यक्रममा आफ्नो मन्तव्य राख्दै पूर्व अध्यक्षहरुले गैंडाकोट जेसीजको आगामी यात्रा सुखद र उज्ज्वल होस् भनी शुभकामना दिएका थिए ।
साधारणसभामा वर्ष २०२० का महासचिव, कोषाध्यक्ष, कार्यकारीणी उपाध्यक्ष तथा उपाध्यक्षले प्रस्तुत गरेको प्रतिवेदन सर्वसम्मत पारित भएको थियो । गैंडाकोट जेसीजका अध्यक्ष सुशील काफ्लेको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण महासचिव शंकर अधिकारीले गरेका थिए ।