×

गैँडाकोट। आदर्श टोल महिला समूह गैँडाकोट १ को दोस्रो साधारण सभा तथा प्रथम अधिवेशन शनिबार सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि गैँडाकोट वडा नं. १ का वडा अध्यक्ष हरिप्रसाद सापकोटाले धार्मिक पर्यटकीय स्थलको रुपमा परिचित आदर्श टोलमा रहेको आदर्श टोल महिला समूहको महत्त्वपूर्ण भूमिका धार्मिक पर्यटन विकासमा रहने कुरा व्यक्त गर्नुभयो ।
आगामी आर्थिक वर्षदेखि वडा नं. १ मा रहेका १० वटै महिला समूहलाई निरन्तर बजेट आउने गरि नीतिगत व्यवस्था गर्न आफूले पहल गर्ने कुरा बताउनुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि सापकोटाले महिला समूहरुसंग सहकार्य गरेर सफा र स्वच्छ वडा निर्माण अभियान सञ्चालन गर्ने गरि वडाले निर्णय गर्न लागेको बताउनुभयो ।
कार्यक्रममा लेखा समिति संयोजक हरिकला भट्टराईले लेखा प्रतिवेदन, कोषाध्यक्ष गीता आचार्यले आर्थिक प्रतिवेदन र सचिव मञ्जु गौतमले कार्य प्रगति प्रतिवेदन तथा भावी कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
सचिव मञ्जु गौतमले सहजीकरण गर्नुभएको उक्त साधारण सभा अध्यक्ष सरिता धितालको अध्यक्षतामा सम्पन्न भएको थियो । त्यसैगरी दोस्रो साधारण सभा तथा प्रथम अधिवेशनले रञ्जना रेग्मीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सीता लम्साल, सचिवमा हरिकला भट्राई, कोषाध्यक्षमा शान्ति भूषाल, सहसचिवमा मञ्जु भट्टराई र सदस्यहरुमा धनलक्ष्मी उपाध्याय, मञ्जु शर्मा, रोजिना भण्डारी, मञ्जु थापा क्षेत्री, सीता भट्राई, अस्मिता पौडेल, कल्पना गिरि, धनकुमारी बस्ताकोटी, लेखा समिति संयोजकमा निरमाया सुवेदी, सदस्यहरुमा कोपीलादेवी चालिसे, सुशीला सुवेदी चयन हुनुभएको निर्वाचन समितिका संयोजक लालमणि पौडेलले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया