×

काठमाण्डौ – हेलिकप्टरबाट पानी खन्याएर आगो निभाएपछि ताप्लेजुङको पाथीभरा मन्दिर तत्कालका लागि सुरक्षित भएको छ ।

मन्दिर आसपासको जङ्गल क्षेत्रमा गएको बिहीबारदेखि सुरु भएको डढेलो मन्दिर परिसरमै पुगेपछि हिजो सोमबार हेलिकप्टरबाट पानी खन्याएर आगो निभाएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईँले जानकारी दिनुभयो ।

हेलिकप्टरले जोरपोखरीबाट पानी लगेर मन्दिर परिसरको आगो निभाएको हो । हेलिकप्टरले पाँच पटक पानी खन्याएपछि आगलागीबाट मन्दिरसहित त्यहाँका संरचना बचेको र तत्कालका लागि मन्दिरको जोखिम हटेको प्रजिअ चापागाईँले बताउनुभयो । तर आसपास रहेको जङ्गलको ठूलो क्षेत्रमा आगलागी भइरहेकोले निभाउन कठिन भएको उहाँले बताउनुभयो ।

आज मङ्गलबार पनि हेलिकोप्टरबाट पानी खन्याएर आगो नियन्त्रण गर्ने उहाँले बताउनुभयो । स्थानीयसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले प्रयास गरिरहेको भए पनि आगलागी नियन्त्रणमा आउन सकेको छैन ।

शनिबार साँझदेखि आगलागी आंशिकरूपमा नियन्त्रणमा आए पनि हिजो ९सोमबार० बिहान एक्कासी फैलिएर मन्दिर परिसरमा नै पुगेको थियो । रातको समयमा डढेलो केही कम भए पनि बिहान हावा चल्न थालेपछि फैलने गरेको प्रजिअ चापागाईँको भनाइ छ ।

तपाईको प्रतिक्रिया