Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

झापा । झापाको विर्तामोड नगरपालिका– ८ की रेनुका नेपालले पतिको निधनपछि सिन्दूर पोते फाल्नुपर्ने प्रचलनलाई तोडेर घाटबाटै सिन्दूर–पोतेसहित घर फर्केर काजकिरिया बारिरहेकी छन्।

उनका पति केशव नेपालको मिर्गौला रोगका कारण शनिबार ६१ वर्षको उमेरमा निधन भएको थियो। १७ दिनअघि घरछेउ पैदलयात्रा गरिरहेका बेला मोटरसाइकलको ठक्करले घाइते भएका उनको त्यसपछि मिर्गौलामा समस्या थपिएको थियो।

बिएन्डसी र नोबेल हस्पिटलमा उपचार गर्दासमेत स्वास्थ्यमा सुधार नभएको उनको शनिबार निधन भएपछि स्थानीय देउनिया घाटमा दाहसंस्कार गरिएको थियो।

दाहसंस्कारकै क्रममा पत्नीको सिन्दूर पुछिदिने र हातका चुरा फुटाइदिने प्रचलन छ तर रेनुकाले आफ्ना पतिबाट सौभाग्यको रूपमा पाएको सिन्दूर र पोते नफाल्ने बताउँदै सेतो लुगामा घर फर्किइन्।हाल निजी निवासमा पतिको किरिया गरिरहेकी उनको यो निर्णयलाई परिवार, छरछिमेकी र देख्नेसुन्नेले साहसिक निर्णय भन्दै समर्थन जनाएका छन्।

यो मेरा पतिले सौभाग्यको रूपमा दिनुभएको होु, पतिको निधनपछि पनि सिन्दूर र पोते लगाउनुको कारण बताउँदै उनले भनिन्, ुउहाँले म मरेपछि तिमीले सिन्दूर नपुछ्नु र पोते नफुकाउनु भन्नुभएको थियो।

रेनुकाका देवर तथा टेलिभिजन पत्रकार टीकाराम नेतीले दाजुको इच्छाबमोजिम भाउजूले सिन्दूर र पोते लगाइरहने निर्णय लिएकोमा परिवारको तर्फबाट असहमति नरहेको बताए।

वीरता जेसिजका पूर्वअध्यक्ष सजेश शिवाकोटीले रेनुका नेपालले समाज परिवर्तनका लागि साहसिक निर्णय लिएको र त्यसबाट युवा पुस्तालाई प्रेरणा मिलेको बताएका छन्। सेतोपाटीबाट

 

तपाईको प्रतिक्रिया