×

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेको छ। निषेधाज्ञा तोडेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँले पौडेललाई नियन्त्रणमा लिएको हो।

प्रमुख जिल्ला अधिकारी सागर आचार्यले पौडेलले निषेधाज्ञा तोडेकोले नियन्त्रणमा लिइएको बताए। ‘उहाँ  ले सुरक्षा घेरा तोड्नुभयो,’ प्रजिअ आचार्यले भने, ‘नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखेका छौं।’ भिडभाडमा नेता पौडेलको सुरक्षा अवस्था समेतलाई हेरेर नियन्त्रणमा लिनु परेको उनले बताए।

‘विभिन्न तत्वले घुसपैठ गर्न सक्ने देखियो। उहाँ घाइते हुन सक्ने भएर पनि सुरक्षाका लागि नियन्त्रणमा लिनु परेको हो। उहाँले निषेषाज्ञा पनि तोड्नुभयो,’ उनले भने।वरिष्ठ नेता पौडेलले पनि आफूलाई प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखेको बताएका छन्।आज पौडेलले तनहुँ व्यासस्थित बुल्दी पुल उद्घाटन गर्ने कार्यक्रम थियो।

पुल उद्घाटन कांग्रेस नेता पौडेलले गर्न नहुने भन्दै युवा संघले बुधबार बिहान ११ बजेदेखि करिब आधा घण्टा मोटरसाइकल र्‍यालीसहित प्रदर्शन र कोणसभा गरेको थियो।नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप हुन सक्ने भन्दै प्रशासनले आज साँझ ६ बजेसम्म निषेधाज्ञा लगाएको थियो। तर निषेधाज्ञा तोडेर पुल उद्घाटन गर्न पौडेल अघि बढेपछि नियन्त्रणमा लिनु परेको प्रहरीले जनाएको छ।

 

तपाईको प्रतिक्रिया