नवलपुर । नारायणी नदीमा पानीको सतहले खतराको तह पार गरेको छ । बहाव बढेपछि गण्डक ब्यारेजका ३६ वटै ढोका खोलिएको छ । तीन दिनदेखि परेको लगातारको वर्षाका कारण नदीमा पानीको सतह बढेसँगै जोखिम बढेकाले ब्यारेजका सबै ढोका खोलिएको भूआर्जन तथा जनसम्पर्क कार्यालयका जनसम्पर्क अधिकारी तारासिंह थापाले जानकारी दिए ।
व्यारेजले भारतको बिहार प्रदेशस्थित भैंसालोटन र पूर्वी नवलपरासीलाई जोडेको छ । ब्यारेजमा अहिले ३ लाख ३२ हजार क्यूसेक प्रति सेकेण्ड पानीको बहाव छ । यो बढ्ने क्रममा छ । ४ लाख क्यूसेक पुगेपछि उच्च खतरा मानिन्छ । जल तथा मौसम विभागका अनुसार नारायणी नदी देवघाट क्षेत्रमा खतराको तह पार गरेको छ ।