×

 म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा बाढीले झोलुङ्गे पुल बगाएपछि आवतजावतमा समस्या भएको छ । रघुगङ्गा नदीमा आएको बाढीले कुइनेमङ्गलेको विभिन्न चार ठाउँमा झोलुङ्गे पुल बगाएको छ ।बाढीले कटान गरेर पुल भत्काउने र बगाएकाले एक गाउँदेखि अर्को गाउँमा आवतजावतमा समस्या भएको दुवाडीका याम घर्तिमिरेले जानकारी दिए । ‘खाद्यान्न ढुवानी, बिरामी स्वास्थ्य संस्थामा जान र काम विशेषले छिमेकी गाउँमा जान पाइएको छैन,’ उनले भने, ‘खोलामा जङ्घार तरेर अथवा घुमाउरो बाटो हिँड्नुपर्ने भएकाले जनजीवन कष्टकर भएको छ ।’

दुवाडी र ढाड जोड्ने बन्दीघाटको ७८ मिटर र खरिबोटस्थित ११८ मिटर लामो झोलुङ्गे पुल बाढीले बगाएको कुइनेमङ्गलेका वडाध्यक्ष गमान छन्त्यालले जानकारी दिए । ‘एकरातेको ६० मिटर लामो भाकर झोलुङ्गेपुल र छहरीस्थित ७८ मिटर लामो झोलुङ्गे पुलको एकातर्फको भाग नदीमा खसेको छ,’ उनले भने, ‘दुवाडी, घ्याँसीखर्क, पात्लेखर्क, चौरखानी, खरिबोटलगायत बस्तीका २०० भन्दा बढी घरधुरीलाई आवतजावतमा समस्या भएको छ ।’

विसं२०७७ को साउन महिनायता विभिन्न समयमा रघुगङ्गा नदीमा आएको बाढीले पुल बगाएको हो । बगाएको सबै पुल रघुगङ्गा नदी माथिका हुन् । सबै पुलको दायाँतर्फको भागमा कटान गरेर बगाएको छ । कुइनेमङ्गले म्याग्दीको भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने गाउँ हो ।

रासस

तपाईको प्रतिक्रिया