गैँडाकोट- गैँडाकोट नगरपालिकाका कुल १८ वटा वडामध्ये वडा नं. ९ ले पहिलो पटक वडा कार्यालयभित्रै ‘नागरिक सेवाकेन्द्र’ सञ्चालनमा ल्याएर नयाँ र अनुकरणीय शुरुआत गरेको छ। वडा कार्यालयमा सेवा लिन आउने वडाबासीहरूलाई सहज, छिटो-छरितो र झन्झटमुक्त सेवा प्रदान गर्ने उद्देश्यले यो सेवा सञ्चालनमा ल्याइएको हो।
अब वडा कार्यालय पुग्ने सेवाग्राहीले निवदेन लेख्न, फाराम भर्न वा आवश्यक कागजात जुटाउन अन्यत्र धाइरहनुपर्ने छैन। सेवाकेन्द्रमा खटिएका कर्मचारीहरूले नै सेवाग्राहीका लागि चाहिने सम्पूर्ण कागजात तथा निवेदनको बन्दोबस्त गरिदिने व्यवस्था मिलाइएको छ। यसका साथै फोटोकपी तथा अन्य सामान्य कागजी कामका लागि पनि बाहिर जानुनपर्ने गरी कार्यालयभित्रै प्रविधि र सुविधा उपलब्ध गराइएको छ।
नगरका अन्य कुनै पनि वडामा हालसम्म यो सेवा उपलब्ध नरहेको अवस्थामा वडा नं. ९ ले नगरमै पहिलो अभ्यासका रूपमा यसलाई अघि बढाएको हो।
नागरिकलाई प्रशासनिक काममा सहजता र ढिलासुस्तीमुक्त वातावरण बनाउन यो कदम चालिएको वडाध्यक्ष धामनाथ सापकोटाले बताउनुभयो। “नगरका १ देखि १८ वटै वडामध्ये हाम्रा वडाबासीले पहिलो पटक यो सुविधा पाउनुभएको छ। वडामा आउने कुनै पनि नागरिकले सेवा लिनका लागि कागजात नपुगेर वा प्रक्रिया नबुझेर सास्ती भोग्न नपरोस् भन्ने हाम्रो मुख्य ध्येय हो,” वडाध्यक्ष सापकोटाले भन्नुभयो, “वडाबासीले एउटै छानामुनिबाट सहज र मुस्कानसहितको सेवा पाउने वातावरण हामीले मिलाएका छौँ।”
वडा कार्यालयमै नगरकै पहिलो सेवाकेन्द्र स्थापना भएपछि समय र पैसाको बचत हुनुका साथै काममा निकै सहजता आएको भन्दै स्थानीय सेवाग्राहीहरूले वडाको यस कदमको उच्च प्रशंसा गरेका छन्।



उज्यालो खबर

