भरतपुर – चितवनको भरतपुर महानगरपालिका-२८, मेघौलीमा बिहान मर्निङ वाकमा निस्किएका ६५ वर्षीय मङ्गले बोटेको बाघको आक्रमणबाट मृत्यु भएको छ।बिहान करिब पौने ५ बजे होटल साङ्ग्रीला नजिकैबाट बाघले नियन्त्रणमा लिई जंगलतर्फ लगेका बोटेको खोजी गर्ने क्रममा मृत्यु भइसकेको पुष्टि भएको हो।
घटना लगत्तै उद्धारमा खटिएको स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र चितवन राष्ट्रिय निकुञ्जको संयुक्त टोलीले खोजी गर्दा बोटेको शरीरको अन्य भाग फेला नपरे पनि एउटा खुट्टा मात्रै भेटिएको छ। बोटेलाई आक्रमण गर्ने बाघ अहिले पनि घटनास्थल नजिकैको झाडीमै बसिरहेकाले सुरक्षा टोलीले सतर्कताका साथ घेराबन्दी गरी नियन्त्रणको प्रयास गरिरहेको छ।
निकुञ्जको मध्यवर्ती क्षेत्र नजिकै घटेको यस दुःखद घटनापछि स्थानीयवासी स्तब्ध र त्रसित बनेका छन्। स्थिति थप जोखिमपूर्ण हुन नदिन स्थानीय प्रशासन तथा सुरक्षा निकायले सर्वसाधारणलाई बिहान-बेलुकाको समयमा एक्लै बाहिर ननिस्कन र विशेष सजगता अपनाउन कडा आग्रह गरेको छ।



उज्यालो खबर

