गैंडाकोट। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गैंडाकोट नगर समितिको कोषाध्यक्ष पदमा ऋषि गौतम सर्वसम्मत रूपमा चयन हुनुभएको छ। १५ सदस्यीय नगर समितिको आज बसेको बैठकले गैंडाकोट–१३ निवासी तथा वडाका निर्वाचित जनप्रतिनिधिसमेत रहनुभएका गौतमलाई सर्वसम्मतिमा कोषाध्यक्षको जिम्मेवारी सुम्पिने निर्णय गरेको रास्वपा गैंडाकोट नगर समितिका सभापति बिमल घिमिरेले जानकारी दिनुभयो।
पार्टी संगठनलाई थप चलायमान बनाउन र आर्थिक पारदर्शिता कायम राख्न अनुभवी एवं जनउत्तरदायी नेतृत्व आवश्यक परेकाले नगर समितिको सर्वसम्मत निर्णयबाट गौतमलाई जिम्मेवारी दिइएको सभापति घिमिरेले बताउनुभयो। नवनिर्वाचित कोषाध्यक्ष गौतमलाई समितिका तर्फबाट हार्दिक बधाई दिँदै सफल, परिणाममुखी र प्रेरणादायी कार्यकालको शुभकामना व्यक्त गरिएको छ।
कोषाध्यक्ष पदमा चयन भएपछि आफ्नो धारणा राख्दै ऋषि गौतमले पार्टीले सुशासन, पारदर्शिता, जवाफदेहिता र जनउत्तरदायी राजनीतिका जुन मूल्य–मान्यता स्थापित गरेको छ, तिनै सिद्धान्तलाई आत्मसात गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
“मलाई विश्वास गरेर यो महत्वपूर्ण जिम्मेवारी सुम्पिनुभएकोमा नगर समिति तथा सम्पूर्ण पार्टी पंक्तिप्रति आभार व्यक्त गर्दछु,” नवनिर्वाचित कोषाध्यक्ष गौतमले भन्नुभयो, “पार्टीको आर्थिक प्रणालीलाई पूर्ण रूपमा पारदर्शी र अनुशासित बनाउँदै स्थानीय तहमा संगठनलाई अझ सुदृढ, फराकिलो र जनतासँग प्रत्यक्ष जोड्ने गरी काम गर्नेछु। जनप्रतिनिधिको रूपमा काम गर्दाको अनुभवलाई पार्टी हित र जनसेवामा पूर्ण रूपमा उपयोग गर्नेछु।”
बैठकले रास्वपाका नीति तथा विचारलाई जनस्तरसम्म पुर्याउन र स्थानीय समस्या समाधानमा नगर समितिलाई अझ सक्रिय बनाएर लैजाने निर्णयसमेत गरेको छ। नवनिर्वाचित कोषाध्यक्षको कुशल नेतृत्वमा गैंडाकोटमा रास्वपाको सांगठनिक उपस्थिति अझ सशक्त र प्रभावकारी बन्ने विश्वास पार्टी पंक्तिले लिएको छ।



उज्यालो खबर

