दाङ — “बाबु बचाइहाल, बचाइहाल…”
कपिलवस्तुका पूर्वमेयर ६५ वर्षीय किरण सिंहले शुक्रबार बेलुकी आफ्ना व्यावसायिक साझेदारलाई फोनमा भनेका अन्तिम शब्द हुन् यी। त्यसपछि स्वाँस्वाँ बढेको आत्तिएको स्वर सुनियो, अनि बेलुकी पौने ६ बजेदेखि उनको मोबाइल फोन पूर्ण रूपमा स्विच अफ भयो।
शुक्रबार बिहान कपिलवस्तु नगरपालिका–३ स्थित घरबाट नयाँ कृषि फार्म तथा रिसोर्ट निर्माण स्थलतर्फ निस्किएका सिंह त्यसपछि सम्पर्कविहीन भएका हुन्। पूर्व–पश्चिम राजमार्गबाट करिब ८ किलोमिटर भित्र गोरूसिंगेको घना जंगलमा उनले प्रयोग गरेको लु.प्र.०१०१३ प ७९७० नम्बरको मोटरसाइकल बेवारिसे अवस्थामा फेला परेको छ।
उनी जंगलमा बाटो बिराएर कतै अलपत्र परेका हुन् कि अन्य कुनै भवितव्यमा परे भन्ने विषयमा सर्वत्र चासो र चिन्ता बढेको छ।
परिवारका अनुसार पूर्वमेयर सिंह प्रेसर र दमका दीर्घरोगी हुन्। उनी धेरै टाढा हिँड्न सक्ने शारीरिक अवस्थामा छैनन्। यस्तो अवस्थामा घना जंगलभित्र बाटो बिराएपछि उनी कतै बेहोस भएर ढलेका त छैनन् वा श्वासप्रश्वासको समस्या बढेर सहयोगको पर्खाइमा बसिरहेका छन् कि भन्ने आशंका गरिएको छ।
घटनालगत्तै इलाका प्रहरी कार्यालय गोरूसिंगे र जिल्ला प्रहरी कार्यालयको टोली खोजीमा खटिएको छ। शनिबार बिहानैदेखि ८० भन्दा बढी नेपाल प्रहरी, तालिमप्राप्त कुकुर (स्निफर डग) र स्थानीय गरी १०० भन्दा बढी मानिस जंगलका कुनाकाप्चा चाहारिरहेका छन्।
प्रहरीले घरबाट लगिएका पुराना कपडा सुँघाएर कुकुरको सहयोगमा जंगल क्षेत्रमा खोजी गर्नुका साथै मोबाइलको अन्तिम टावर लोकेसन (बीटीएस) लाई आधार बनाएर प्राविधिक अनुसन्धान पनि अघि बढाएको छ।
नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भई पाँच वर्ष कपिलवस्तु नगरपालिकाको मेयर चलाइसकेका सिंहकी श्रीमती घरमा छिन् भने दुई छोराहरू जापान र भारतमा छन्। अहिले परिवार र स्थानीयबासी उनी सुरक्षित फेला पर्ने खबरको प्रतीक्षामा छन्।



उज्यालो खबर

