नवलपुर- कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा विगत ३० वर्षदेखि एकछत्र रहँदै आएको नेकपा (एमाले) को नेतृत्व यसपटक ढलेको छ। हालै सम्पन्न निर्वाचनमा एमालेको विरासतलाई भत्काउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को गठबन्धन प्यानलले ऐतिहासिक जित हासिल गरेको हो।
संस्थाको नयाँ अध्यक्ष पदमा रास्वपाका उम्मेदवार अमृत कुमार श्रेष्ठ विजयी हुनुभएको छ। उहाँले १,६४३ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका उपविजेता उम्मेदवार दिपकराज लम्सालले १,३४९ मत पाउनुभएको छ। वि.सं. २०७४ को स्थानीय चुनावमा कावासोती–३ को वडा अध्यक्ष निर्वाचित हुनुभएका श्रेष्ठ करिब ५ महिनाअघि मात्रै रास्वपामा प्रवेश गर्नुभएको थियो।
निर्वाचन परिणाम अनुसार संस्थाको उपाध्यक्ष पदमा नेपाली काङ्ग्रेसका तर्फबाट उम्मेदवार बन्नुभएकी लक्ष्मी गौतम १,३८० मतका साथ विजयी हुनुभएको छ। उहाँकी प्रतिस्पर्धी उपविजेता सन्तुकुमारी ढकालले १,१०८ मत प्राप्त गर्नुभयो। त्यसैगरी, सचिव पदमा रास्वपाकै रमाकान्त काफ्ले १,१४४ मत ल्याएर निर्वाचित हुनुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी ज्ञानेन्द्र न्यौपानेले १,०३४ मत प्राप्त गर्नुभएको छ।
लेखा संयोजक पदमा राप्रपाका दिपेन्द्र न्यौपाने १,४४२ मतका साथ विजयी हुनुभएको छ भने उपविजेता शालिकराम सापकोटाले १,१८९ मत प्राप्त गर्नुभएको छ।
यस्तै, संस्थाको कार्यसमिति खुल्ला सदस्यहरूमा इश्वरी प्रसाद अधिकारी र हुमकला भूसाल पोखरेल विजयी हुनुभएको छ। समावेशीतर्फ जनजाति महिला सदस्यमा देवकी पुन र दलित महिला सदस्यमा बिरसोना सुनार निर्वाचित हुनुभएको छ।
वडागत सदस्यहरूतर्फ वडा नं. २ मा गम्बिराम सारु, वडा नं. ३ मा भरतराज सेढाई, वडा नं. ५ मा बिर बहादुर थापा, वडा नं. ६ मा इन्द्रप्रसाद काफ्ले, वडा नं. ८ मा मन बहादुर गुरुङ र वडा नं. ९ मा सूर्य हमाल विजयी हुनुभएको छ।
कावासोती क्षेत्रकै ठूलो र महत्त्वपूर्ण मानिने यस उपभोक्ता संस्थामा तीन दशकपछि भएको यो ठूलो राजनीतिक फेरबदल र नयाँ नेतृत्वको उदयलाई स्थानीय स्तरमा निकै चासोका साथ हेरिएको छ।

उज्यालो खबर