नवलपुर – कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको आगामी असार ६ गते शनिवार हुने निर्वाचनको सरगर्मी ह्वात्तै बढेको छ। यसै क्रममा संस्थाको आर्थिक पारदर्शिता र सुशासनको मुख्य जिम्मेवारी मानिएको ‘लेखा समिति संयोजक’ पदमा बौद्धिक एवं बहुआयामिक व्यक्तित्व शालिकराम कोइरालाले उम्मेदवारी दिएपछि चुनावी माहोल थप गर्माएको छ।
संस्थाको स्थापना कालदेखि हालसम्मका हरेक गतिविधि, नीतिगत निर्णय र आर्थिक उतारचढावहरूलाई अत्यन्तै सूक्ष्म ढंगले नियाल्दै आउनुभएका कोइरालाको चुनावी मैदानमा प्रवेशले आम उपभोक्ता माझ ठूलो भरोसा र आकर्षण पैदा गरेको छ।
स्नातकोत्तर (Degree) उत्तीर्ण कोइराला नवलपुर क्षेत्रकै एक स्थापित र निष्कलंक व्यक्तित्व हुनुहुन्छ। उहाँसँग नेपाल सरकारको शाखा अधिकृत (सेक्सन अफिसर) का रूपमा छोटो समय कार्य गरेको प्रशासनिक अनुभव, विगत १२ वर्षदेखि स्थानीय कुमारवर्ती बहुमुखी क्याम्पसमा प्राध्यापन गरेको प्राज्ञिक ओज र मूलधारको मिडियामा १५ वर्षसम्म खोजी पत्रकारिता गरेको विशिष्ट अनुभव छ। विभिन्न सामाजिक संघ-संस्थामा समेत उहाँ उत्तिकै सक्रिय हुनुहुन्छ।
कोइरालाले भन्नुभयो-“कावासोती खानेपानी उपभोक्ताहरूको पसिनाले सिञ्चित संस्था हो। यसको स्थापना कालदेखि हालसम्म कहाँ-कहाँ कस्ता नीतिगत र आर्थिक त्रुटिहरू भए, उपभोक्ताको महसुलको कहाँ कसरी सदुपयोग भयो भन्ने कुराको म सूक्ष्म समीक्षा गर्नेछु। संस्थाको हिसाब-किताबलाई पानी जस्तै सफा र पारदर्शी बनाउनु नै मेरो मुख्य संकल्प हो।”
पछिल्लो समय खानेपानी संस्थामा आर्थिक पारदर्शिताको मुद्दा जोडतोडले उठिरहेका बेला मिडिया, प्रशासन र प्राध्यापन क्षेत्र बुझेको योग्य व्यक्ति लेखा समितिमा आउनुपर्ने माग आम उपभोक्ताको छ। १५ वर्षसम्म मिडियामा रहेर निगरानीकर्ताको भूमिका निभाएका र सरकारी अफिसर भइसकेका कोइराला नै लेखा समितिका लागि निर्विकल्प पात्र भएको स्थानीयको विश्लेषण छ।
असार ६ गते शनिवार हुने निर्वाचनमा कावासोतीका उपभोक्ताहरूले क्षमता र योग्यतालाई हेरेर शालिकराम कोइरालालाई अत्यधिक बहुमतले विजयी गराउने चुनावी प्रचार समितिले विश्वास लिएको छ।

उज्यालो खबर