×

चितवन । चितवनका स्थापित चिकित्सक एवं नेपाली कम्युनिष्ट पार्टीका नेता डा. भोजराज अधिकारीले सक्रिय राजनीतिबाट अलग भएको घोषणा गरेका छन्। हाल देश बाहिर रहेका डा. अधिकारीले सामाजिक सञ्जालमार्फत एक वक्तव्य जारी गर्दै आजकै मितिदेखि पार्टीको वर्तमान राजनीतिक आबद्धता, पद र सम्पूर्ण सक्रिय दायित्वहरूबाट अलग भई निष्क्रिय रहने निर्णय गरेका हुन्।

डा. अधिकारीको यो अप्रत्याशित घोषणाले चितवनसहित देशको कम्युनिष्ट राजनीतिमा नयाँ तरंग पैदा गरिदिएको छ।

आफ्नो निर्णय सार्वजनिक गर्दै डा. अधिकारीले आजसम्मको राजनीतिक यात्रामा प्राप्त ज्ञान, दर्शन र भूमिकाप्रति सम्मान व्यक्त गरेका छन्। समकालीन समाजको अग्रगामी सोच र कम्युनिष्ट पार्टीको राजनीतिक प्रशिक्षणबाटै आफू हुर्किएको उल्लेख गर्दै उनले इतिहासको त्यो कालखण्डप्रति आफ्नो सदैव आदर रहने स्पष्ट पारेका छन्।

तर, बदलिँदो समयको मागलाई औंल्याउँदै उनले लेखेका छन्, “समय अब कुनै बादको आइडिओलोजी भन्दा बिकाशबादको प्रतिस्पर्धामा छ।” आगामी दिनमा आफ्नो पेशागत दक्षता (चिकित्सा क्षेत्र) र अनुभवलाई अझ बढी समाजसेवामा मुखरित र समर्पित गर्ने उद्देश्यका साथ आफूले यो कदम चालेको उनले स्पष्ट पारेका छन्। राजनीतिबाट अलग भए पनि एक सचेत नागरिकका रूपमा सामाजिक र पेशागत रूपमा आफ्नो योगदान निरन्तर रहने प्रतिबद्धता उनले जनाएका छन्।

डा. भोजराज अधिकारी चितवनको राजनीतिमा स्थापित र लोकप्रिय नाम हो। यसअघि सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा उनी चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाट नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को तर्फबाट आधिकारिक उम्मेदवार बनेका थिए। तत्कालीन समयमा निकै चर्चामा रहेको उक्त निर्वाचनमा उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता विक्रम पाण्डेसँग पराजित हुन पुगेका थिए।

चुनावमा पराजित भए पनि पार्टी र सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका डा. अधिकारीले अचानक देश बाहिरबाट सक्रिय राजनीति त्याग्ने र दलगत रूपमा निष्क्रिय रहने निर्णय लिएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र र विशेषगरी चितवनको राजनीतिमा यसलाई एउटा ठूलो धक्काका रूपमा हेरिएको छ। प्राज्ञिक र पेशागत क्षेत्रका व्यक्तिहरू राजनीतिमा टिक्न गाह्रो हुने हो कि भन्ने बहसलाई पनि यो घटनाले पुनः ब्युँताइदिएको छ।

तपाईको प्रतिक्रिया