×

काठमाडौँ – विशेष अदालतले इलेक्ट्रिक चुरोट (भेप) मार्फत भएको सुन तस्करी र भ्रष्टाचार मुद्दामा जोडिएका पूर्वसभामुख कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य विदुर कोइरालाको संयुक्त इजलासले सोमबार महरालाई धरौटीमा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो। अदालतको आदेशमा भनिएको छ, ‘पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी कृष्णबहादुर महराबाट नगद धरौटी एक लाख रुपैयाँ वा सो बराबरको बैंक जमानत लिई उनलाई तारिखमा राखी प्रस्तुत मुद्दा पुर्पक्ष गर्नू।’ महराले तोकिएको धरौटी रकम वा बैंक जमानत बुझाउन नसकेको खण्डमा भने उनलाई कारागार चलान गर्न समेत अदालतले निर्देशन दिएको छ।

अदालतले महराले अनुसन्धान अधिकृत र अदालतसमक्ष गरेको बयान, भेपमा सुन राखी अवैध आयात गरिएको भनी दर्ता भएको उजुरी, तथा महरा र चिनियाँ नागरिक दाओजिन वाङ एवं अरुण पोखरेलबीच भएको फोन संवाद (कल डिटेल) लगायतका प्राप्त प्रमाणहरूलाई आधार मान्दै उक्त धरौटीको आदेश सुनाएको हो।

यसअघि, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेप सुन तस्करी प्रकरणमा भ्रष्टाचार भएको ठहर गर्दै पूर्वसभामुख महरासहितका अभियुक्तहरूविरुद्ध ७ करोड ७८ लाख ६८ हजार ९५ रुपैयाँ बिगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो। सोही मुद्दाको थुनछेक बहसपछि अदालतले यो आदेश जारी गरेको हो।

तपाईको प्रतिक्रिया