×

चितवन- इच्छाकामना गाउँपालिका वडा नं–१ कुलवाङका श्यामबहादुर चेपाङको परिवारलाई इच्छाकामना गाउँपालिकाले किरिया खर्चबापतको आर्थिक सहयोग उपलब्ध गराएको छ । गत हप्ता मात्रै एकै परिवारका तीन सन्तान गुमाएको उक्त पीडित परिवारलाई गाउँपालिकाले तत्काल सहयोग स्वरूप रकम प्रदान गरेको हो ।

गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले मृतकका बुवा श्यामबहादुर र उनकी पत्नीलाई संयुक्त रूपमा प्रतिमृतक २५ हजार रुपैयाँका दरले किरिया खर्चबापतको रकम हस्तान्तरण गर्नुभएको हो । विकट क्षेत्रमा रहेको सो परिवारलाई सान्त्वना दिन अध्यक्ष गुरुङ आफैँ गाउँपालिकाको वडा नं १ हात्तीवाङबाट करिब ४५ मिनेटको पैदल दूरीमा रहेको मृतकको घरैमा पुग्नुभएको थियो ।

गत हप्ता श्यामबहादुरका तीन सन्तान—१३ वर्षीया मनिता चेपाङ, ११ वर्षीय सञ्जय चेपाङ र ९ वर्षीया नमुना चेपाङको दुःखद निधन भएको थियो । तीन बालबालिकामध्ये एक जनाको घरमै र अन्य दुई जनाको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको गाउँपालिकाले जनाएको छ ।

बालबालिकाहरूको मृत्युको प्रारम्भिक कारण जङ्गली च्याउको सेवन भनिए पनि पीडित परिवारले भने यसलाई पूर्ण रूपमा अस्वीकार गरेको छ । मृतकका बुवा श्यामबहादुरका अनुसार उनीहरूले केही दिनदेखि च्याउ खाएका थिएनन् । घटनाको वास्तविक कारणबारे अझै स्पष्ट हुन सकेको छैन । स्थानीय सरकारले पीडित परिवारको थप अवस्था बुझ्ने र आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

तपाईको प्रतिक्रिया