नवलपुर – महालेखापरीक्षकको कार्यालय को ६३ औँ वार्षिक प्रतिवेदन २०८३ अनुसार देशभरका स्थानीय तहहरूमध्ये न्यूनतम बेरुजु कायम गर्ने उत्कृष्ट १० स्थानीय तहभित्र बौदीकाली गाउँपालिका पर्न सफल भएको छ।
प्रतिवेदन अनुसार बौदीकाली गाउँपालिकाको बेरुजु दर ०.०२०० रहेको छ। साथै, जिल्ला स्तरमा हेर्दा बौदीकाली गाउँपालिका नवलपुर जिल्लामा दोस्रो स्थानमा पर्न सफल भएको छ भने देशभरका स्थानीय तहहरूमा ८ औँ स्थान हासिल गरेको छ।
गाउँपालिकाले सुशासन, पारदर्शिता, आर्थिक अनुशासन तथा उत्तरदायी कार्यशैलीलाई प्राथमिकतामा राख्दै कार्यसम्पादन गरेकाले यो महत्वपूर्ण उपलब्धि हासिल गर्न सफल भएको गाउँपालिका अध्यक्ष प्रकाश ओझाले बताएका छन्।
अध्यक्ष ओझाका अनुसार सीमित स्रोत–साधनका बीच पनि जनप्रतिनिधि, कर्मचारी, सरोकारवाला तथा सम्पूर्ण नागरिकको सहकार्य, विश्वास र प्रतिबद्धताले गाउँपालिकालाई उत्कृष्टताको यात्रामा अघि बढाउन सहयोग पुगेको हो।
“यो उपलब्धि केवल तथ्यांक मात्र नभई बौदीकालीको इमानदार प्रयास, उत्तरदायी नेतृत्व र विकासप्रतिको दृढ संकल्पको प्रतीक हो,” अध्यक्ष ओझाले भने। उनले आगामी दिनमा अझ प्रभावकारी सेवा प्रवाह, पारदर्शी प्रशासन र जनमुखी विकासमार्फत बौदीकालीलाई नमुना स्थानीय तहका रूपमा स्थापित गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।
उक्त उपलब्धिप्रति गाउँपालिका अध्यक्ष ओझाले सम्पूर्ण बौदीकालीवासीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्।



उज्यालो खबर




