मध्यविन्दु । मध्यविन्दु नगरपालिकाका नगरप्रमुख भिमलाल अधिकारीले नगरबासीलाई शान्त रहन र कुनै पनि हल्ला तथा अफवाहको पछि नलाग्न आग्रह गर्नुभएको छ।
सामाजिक सञ्जालमार्फत जारी अपिलमा नगरप्रमुख अधिकारीले पछिल्ला दिनमा सुकुम्बासी तथा अव्यवस्थित बसोबासीसम्बन्धी विषयमा विभिन्न निकाय, सेना र प्रहरी परिचालन तथा काठमाडौँलगायत स्थानमा देखिएका सरकारी गतिविधिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्नुभएको छ।
उहाँले नेपालको संविधानले सरकारका विभिन्न तहबीचको जिम्मेवारी स्पष्ट रूपमा निर्धारण गरेको भए पनि व्यवहारमा केही द्विविधा उत्पन्न भएको बताउनुभयो। देशभित्र व्यक्तिगत स्वामित्वबाहेकका अधिकांश जग्गा नेपाल सरकारको अधिनमा रहने भए पनि कानुनी प्रक्रिया पूरा गरी कतिपय स्थानमा जग्गाधनी प्रमाण पुर्जा वितरण भइसकेको र केही स्थानमा प्रक्रिया अझै बाँकी रहेको उहाँको भनाइ छ।
नगरप्रमुख अधिकारीका अनुसार प्रक्रिया नपुगेका तथा कानुन संशोधन आवश्यक पर्ने प्रकृतिका जग्गाका हकमा आवश्यक प्रक्रिया पूरा गरी सहज रूपमा लालपुर्जा उपलब्ध गराउनु तीनै तहका सरकारको दायित्वभित्र पर्छ।
यसै सन्दर्भमा उहाँले नगरबासीलाई कुनै पनि अफवाहको पछि नलाग्न, नआत्तिन र हतोत्साहित नहुन विशेष अनुरोध गर्नुभएको छ।



















उज्यालो खबर










